ग्यास उद्योगी पुनः आन्दोलनमा, चैत ३० गतेदेखि विक्रीवितरण नै रोक्ने चेतावनी |
काठमाडौं । नेपाल आयल निगमले माग पूरा गर्ने प्रतिवद्धता जनाएसँगै गत फागुन २२ गते आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएका ग्यास उद्योगीहरूले फेरि चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् । उनीहरूले यसअघि भएको सम्झौता निगमले पूरा नगरेको भन्दै पुनः चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको जानकारी दिएका हुन् ।
निगम सञ्चालक समितिले गठन गरेको समितिले व्यवसायीका माग सम्बोधन गर्ने गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्ने र ग्याससहित पेट्रोलियम पदार्थ सुधार र व्यवस्थापनका लागि मार्गचित्र बनाउन उच्चस्तरीय समितिसमेत गठन गर्ने सहमति यसअघि भएको थियो ।
ग्यास उद्योगीहरूले आफ्ना १० बुँदे माग १५ दिनभित्र सम्बोधन गर्ने भनेर निगमले गरेको प्रतिवद्धता पूरा नभएको भन्दै फेरि आन्दोलनको घोषणा गरेका हुन् । उक्त सहमति निगमले गठन गरेको समिति र ग्यास उद्योगी तथा व्यवसायीबीच आपूर्तिमन्त्री मातृका यादवसमेतको उपस्थितिमा भएको थियो ।
संघले भोलिदेखि पीडीओ खरिद तथा ग्यास लोडिङ पूर्ण रूपमा बन्द गर्ने, २५ गतेदेखि लोड भएका बुलेटहरू पनि भन्सारबाट नछुटाउने र २८ गतेदेखि देशभरका ग्यास उद्योग बन्द गर्ने बताएको छ । चैत ३० गतेबाट ग्यास विक्री वितरण नै बन्द गर्ने एलपी ग्यास उद्योग संघले घोषणा गरेको छ ।
Visited 1 times, 1 visit(s) today


