विश्वका २५ उत्कृष्ट गन्तव्यमा काठमाडौं पनि पर्यो |
काठमाडौं । सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौं उपत्यका पनि परेको छ । यस्तो सूचीको १९औं स्थानमा उपत्यका परेको हो ।
घुमफिर र यात्राबारे यात्रीलाई विस्तृत विवरण प्रदान गर्ने अमेरिकी ट्राभल साइट ‘ट्रिप एडभाइजर डटकम’ ले नेपालको राजधानीलाई यो वर्ष भ्रमण गर्नैपर्ने १९औं उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको हो ।
ट्रिप एडभाइजरले काठमाडौं उपत्यका र आसपासका धार्मिक एवं ऐतिहासकस्थल, वास्तुकलायुक्त अनुपम भवन, सङ्ग्रहालय, मठमन्दिर, चन्द्रागिरि, नगरकोट, शिवपुरी निकुञ्ज, विभिन्न उद्यानका साथै विश्व सम्पदा सूचीमा सूचीकृतस्थल हरेक यात्रीले हेर्नैपर्ने स्थानका रुपमा समावेश गरेको छ ।
बौद्धनाथ, कपन गुम्बा, पशुपतिनाथ, केशरमहलस्थित स्वप्न उद्यान, काठमाडौं, ललितपुर, भक्तपुर दरबार क्षेत्रका साथै ठमेल लगायत स्थानलाई दर्शनीयस्थलका रुपमा उक्त साइटमा चित्रण गरिएको छ ।
संयुक्त अधिराज्यको राजधानी लण्डनलाई पहिलो नम्बरमा समावेश गरिएको छ भने फ्रान्सको प्यारिस दोस्रो, इटलीको रोम तेस्रो, ग्रीसको क्रेट चौंथो र इन्डोनेसियाको बाली पाँचौ नम्बरमा छन् ।
उक्त साइटले घुम्नैपर्ने सहरको सूचीमा दुबईलाई १०औँ र संयुक्त राज्य अमेरिकाको महानगर न्यूयोर्कलाई १३औं स्थानमा राखेको छ ।

