वीरगञ्ज भन्सार लक्ष्यको ९३.४५ प्रतिशत मात्रै राजस्व संकलन गर्न सफल |
हेटौंडा । नेपालको मुख्य व्यापारिक नाका वीरगञ्जमा रहेको भन्सार कार्यालयले आफ्नो लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छ । चालू आवको फागुनसम्मको लक्ष्य रू. १ खर्ब ८१ अर्ब ११ करोड रहेकोमा उक्त कार्यालयले रू. १ खर्ब १ अर्ब २८ करोड मात्रै राजस्व संकलन गर्न सफल भएको छ । उक्त कार्यालयले आफूले लिएको लक्ष्यको ९३.४५ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ ।
कार्यालयका अनुसार उक्त भन्सार नाकाबाट औद्योगिक तथा व्यावसायिक आवश्यकताका सामग्रीको आयातमा कमी आएपछि लक्ष्यअनुसार राजस्व नउठेको बताइएको छ । भन्सार एजेन्टका अनुसार दैनिक उपभोग्य र व्यावसायिक तथा औद्योगिक सामग्रीमा चर्को भन्सार मूल्याङ्कन गर्न थालिएपछि उक्त नाका भएर सामान आयात गर्ने व्यवसायीले सो नाकाबाट सामान ल्याउन कमी गरेका छन् ।
उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ, विविध किसिमका उपकरण, सिमेन्ट उद्योगका जिप्सम, क्लिङ्कर, गाडीका पार्टपुर्जा, मोटरसाइकल, स्काभेटर, क्रेन, विद्युत् आयोजनाका विद्युतीय सामग्री तथा पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्यका सामग्रीका आयातमा कमी आएका कारण भन्सार राजस्व लक्ष्यअनुसार उठ्न नसकेको हो ।
भन्सार कार्यालयका प्रमुख श्याम भण्डारीले चालू आवको साउनदेखि फागुनसम्म आयातमा भएको कमीका कारण राजस्व लक्ष्यअनुसार संकलन नभएको स्वीकार गरे । उनले भने, ‘जति आयात र निर्यात हुन्छ, त्यति नै राजस्व उठ्छ ।’ वीरगञ्ज भन्सार नाकाबाट नेपाल बाहिर आल्मुनियम, छड, डण्डी, जमोट कपडा, सिआर सिट, हाते झोला, टोपी, तामाका सामान, फिडसप्लिमेन्ट, स्पोर्ट सुज, जुस, जाम र कृषि जडीबुटीलगायतका सामग्री निर्यात हुने गरेको छ ।
Visited 1 times, 1 visit(s) today


