लक्ष्मी बैंकको नयाँ शाखा बौद्ध र ईमाडोलमा, शाखा संख्या १०१ पुग्यो |
काठमाडौं । लक्ष्मी बैंकले काठमाडौंको बौद्ध र ललितपुरको ईमाडोलमा शाखा खोलेको छ । दुई शाखा थपिएसँगै सञ्जाल १०१ पुगेको छ । यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न बैंकले आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।
यी नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४६ जिल्लामा १०१ शाखा, ५ हस्पिटल सेवा काउन्टर, ११७ एटीएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, विमालगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुका बजारहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।
शाखा विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाई को माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।



