घातक रोगको जोखिम बहन गर्ने नेपाल लाइफको स्किम सार्वजनिक | ५० लाख रुपैयाँसम्मको जोखिम ब्यहोर्ने, यसमा सहभागी हुन नियमित बीमा शुल्कमा न्यूनतम रकम मात्र थप गरे पुग्ने
काठमाडौं । विभिन्न समयमा आफ्ना सेवाग्राहीहरूलाई हित हुने खालका समयसुहाउँदा विभिन्न योजना ल्याएर चर्चित र नेपालकै पहिलो बीमा कम्पनी बन्न सफल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हालै पुनः अर्को योजना सार्वजनिक गरेको छ । कम्पनीले घातक रोगहरू (क्रिटिकल इल्नेस) को जोखिम बहन गर्ने ‘घातक रोग सुविधा योजना’ नामक बीमा योजना सार्वजनिक गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाका अनुसार उक्त योजनामा ५० लाख रुपैयाँसम्मको जोखिम वहन हुनेछ । उनले भने, ‘आमसर्वसाधारणलाई घातक रोग लाग्दा आइपर्नसक्ने आर्थिक संकटलाई दृष्टिगत गरेर कम्पनीले यो योजना अघि सारेको हो ।’ हाल विश्वव्यापी रूपमा बढ्दै गएको घातक रोगहरूको उच्च जोखिमबाट हुने क्षतिलाई न्यूनीकरण गर्न यो योजनाले सेवाग्राहीहरूलाई ठूलो सहयोग पुग्ने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार यो पूरक करार (थप सुविधा) लिएपछि बीमा अवधिमा तोकिएका घातक रोग लागेमा बीमाले जोखिम वहन गर्नेछ । साविकको योजना बीमा अवधिसम्म चालू रहनेछ । यस पूरक करारले थप जोखिम बहन गर्नेछ । ऐच्छिक सुविधा दिने पूरक करार पहिला कुनै पनि योजनाको जीवन बीमा गरेका बीमित वा नयाँ बीमितले तोकिएका शर्तहरू पूरा गरी यो थप सुविधा लिन सक्ने कम्पनीले जानकारी गराएको छ ।
यो योजनामा क्यान्सर, अन्तिम चरणको मृगौला विफलता, प्राथमिक पल्मुनरी धमनी उच्च रक्तचाप, सिम्पटम्स मल्टिपल स्क्लेरोसिस, मुख्य अंग प्रत्यारोपण, ओपन चेष्ट सीएबीजी, महाधमनीको शल्यक्रिया, ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरूको मर्मत, मष्तिस्कघात, माइयोकार्डिअल इन्फ्राक्सन वा पहिलो हृदयाघात, कोमा, पूर्ण अन्धोपन, स्थायी रूपले भएको अंगहरूको पक्षाघात, अन्तिम चरणको कलेजोको विफलता, अन्तिम चरणको फोक्सोसम्बन्धी रोग, अल्जाइमर्स रोग, पार्किन्सन्स रोग, तेस्रो डिग्रीमा पोलेको तथा डढेको गरी विभिन्न रोगहरू समावेश गरिएको छ ।
यो योजनामा सहभागी हुन नियमित बीमा शुल्कमा न्यूनतम रकम मात्र थप गरे पुग्ने कम्पनीले बताएको छ ।
कम्पनीले बीमितलाई ६५ देखि ८२ रुपैयाँसम्म प्रतिहजारमा बोनस दिइरहेको छ । कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको सर्वाधिक जीवन बीमा कोष ५९.४९ अर्ब र सर्वाधिक लगानी ६५.९८ अर्ब रहेको छ ।



