एसईई आजदेखि देशैभरि शुरू | सत्ताधारी पार्टीकी सचेतक शान्ता चौधरीदेखि सेलिब्रेटी अभिनेत्री करिश्मासमेत एसईई परीक्षा दिँदै
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज आइतवारदेखि देशैभरि शुरू भएको छ । यो समाचार तयार पार्दासम्म देशैभर शान्तिपूर्ण रूपमा परीक्षा सञ्चालन भइरहेको छ । यस पटकको एसईई परीक्षामा कुल ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएका छन् । गतवर्ष ४ लाख ६३ हजार ७ सय परीक्षार्थी यो परीक्षामा सहभागी भएका थिए ।
यस पटकको एसईई निकै चाखलाग्दो बनेको छ । त्यो के भने कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका कलाकारदेखि सत्ताधारी राजनीतिक दलका चर्चित नेतासम्मले यस पटकको एसईई परक्षा दिँदै छन् ।

चैत २१ गतेसम्म सञ्चालन हुने यो परीक्षामा सहभागी हुन शैक्षिक सत्रमा कम्तीमा ७५ प्रतिशत हाजिरी पुग्नुपर्ने व्यवस्था गरिएको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमीका अनुसार कम्तीमा ७५ प्रतिशत हाजिरी पुग्नुपर्ने व्यवस्थाका कारण हाजिरी नपुगेका कतिपय विद्यार्थी परीक्षामा सम्मिलित हुन नपाउने भएकाले सहभागी हुने भनिएका परीक्षार्थीको संख्या घट्ने अनुमान गरिएको छ ।
यस वर्ष नियमिततर्फ ४ लाख ५० हजार १८६ परीक्षार्थी सहभागी हुँदै छन् । त्यसैगरी, देशभरि १ हजार ९ सय ६९ परीक्षा केन्द्र कायम गरिएको छ । यस वर्षको परीक्षामा परिचालन हुने ७२ हजार ६ सय ७१ जनशक्तिमध्ये सुरक्षाकर्मी मात्र २९ हजार ५ सय ३५ छन् । परीक्षा चैत २१ गतेसम्म सञ्चालन हुनेछ ।
चर्चित अभिनेत्री करिश्मा मानन्धर
यस वर्षको एसईई परीक्षाको आकर्षण चर्चित अभिनेत्री करिश्मा मानन्धर पनि बनेकी छिन् । उनले पनि यस वर्षको एसईई परीक्षा दिइरहेकी छिन् । उनले डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षा दिइरहेकी छिन् ।

करिश्माले कक्षा ८ देखि नै काठमाडौं मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी भएर पढेकी हुन् र सोही विद्यालयको नियमित विद्यार्थीका रूपमा परीक्षा दिएकी हुन् । आज आइतवारको परीक्षाको पहिलो दिन अभिनेत्री करिश्मा बा९च ४२६ नम्बरको कार आफैंले हाँकेर परीक्षा केन्द्रसम्म पुगेकी थिइन् ।
राजनीतिज्ञ शान्ता चौधरी
यस पटकको एसईई परीक्षामा राजनीतिमा छुट्टै छवि बनाउन सफल शान्ता चौधरी पनि सहभागी हुँदै छिन् । कमलरी हुँदै मूलधारको राजनीतिमा आएकी उनले दाङबाट परीक्षा दिँदै छिन् ।

पारिवारिक तथा सामाजिक कारणले अध्ययनबाट वञ्चित चौधरी महेन्द्र मावि, तुलसीपुरमा सञ्चालित खुला विद्यालयको परीक्षार्थी बनेर परीक्षा दिइरहेकी छिन् । यस पटक उनको घरबाट उनीसहित उनकी छोरी पनि परीक्षामा सहभागी बनिरहेकी छिन् । उनकी छोरी भने काठमाडौं उनकै छोरी पनि यसै वर्षको परीक्षामा सामेल भइरहेकी छन् । तर, उनी भने काठमाडौंको वसुन्धरास्थित बाल सिर्जनालय बोर्डिङ स्कुल केन्द्रबाट परीक्षा दिइरहेकी छिन् ।
१६ वर्षसम्म कमलरी जीवन बिताएर मूल धारको राजनीतिमा आएकीकी शान्ता चौधरी हाल सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सचेतक पनि हुन् ।



