अब तीन वर्षसम्म नचलाए मात्रै बैंक खाता निश्क्रिय हुने |
काठमाडौं । बैंकहरुमा खोलिएको बचत खाताबाट तीन वर्षसम्म कुनै कारोबार नभए निश्क्रिय हुने भएको छ । राष्ट्र बैंकले बैंकहरुको आग्रहमा बचत खाताको निश्क्रिय अवधि बढाएको हो । यसअघि ६ महिनासम्म कुनै कारोबार नभएको बचत खाता स्वतः निश्क्रिय हुँदै आएको थियो ।
त्यस्तै चल्ती र कल निक्षेप खातामा भने ६ महिनासम्म कारोबार नभएमा निश्क्रिय हुने भएको छ । निश्क्रिय खातालाई पुनː सक्रिय बनाउन बैंकमै गएर आवश्यक प्रक्रिया पुर्याउनु पर्नेछ ।
बैंकहरुले विभिन्न आकर्षक अफरहरु ल्याएर ग्राहक संख्या बढाउनेतर्फ लाग्दा एउटै व्यक्ति तथा संस्थाले धेरै बैंकमा खाता खोल्ने गरेका छन्।् । धेरै बैंकमा खाता खोले पनि नियमित कारोबार भने एउटा वा दुईटामा मात्रै हुने गरेको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार देशभरका बैंक तथा वित्तीय संस्थामा पुस मसान्तसम्म २ करोड २० लाख बचत खाता खोलिएका छन्।् । जसमध्ये ४४ लाख ५० हजार बचत खाता निश्क्रिय छन् ।
खाता संख्याका आधारमा बचत खाता धेरै रहे पनि संकलन भएको रकमका आधारमा भने मुद्दती निक्षेपको हिस्सा सबैभन्दा उच्च छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत माघ मसान्तसम्म कुल निक्षेपमा मुद्दती खाताको हिस्सा ४७.७ प्रतिशत रहेको छ । त्यस्तै चल्ती खाताको ८.७, बचत खाताको ३३.५ र अन्यको १०. २ प्रतिशत हिस्सा छ ।



