धादिङमा १ सय ६४ किलो चरेससहित एक जना पक्राउ |
धादिङ । पृथ्वी राजमार्गमा जाँचका क्रममा प्रहरीले १ सय ६४ किलो प्रतिबन्धित लागुऔषध चरेस बरामद गरेको छ ।
भारतीय नम्बर प्लेटको युपी१९टी ५१७१ नंम्बरको ट्रकमा लुकाइछिपाई भारततर्फ लैजाँदै गरेको अवस्थामा आज बिहान उक्त परिमाणको चरेस बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए ।
काठमाडौंबाट भारततर्फ जान लागेको ट्रकको क्याबिनमा आठ वटा बोरामा हालेर लैजान लागेको अवस्थामा सो लागुऔषध बरामद भएको हो ।
चरेससहित गजुरी गाउँपालिका–१ नजिकै पृथ्वी राजमार्गबाट भारत उत्तर प्रदेश निवासी २५ वर्षीय मौ महातपलाई पक्राउ गरी हिरासतमा लिइएको छ । गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।



