एनसेलको नयाँ योजना ‘एनसेल सुपर सेलर’ योजना | बम्पर उपहारमा कार, यूरोप भ्रमणदेखि बाइक, स्कूटर, आईफोन एक्ससम्म
काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले आफ्ना देशभर रहेका खुद्रा विक्रेताहरूलाई हित हुने खालको नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले देशभर रहेका आफ्ना खुद्रा विक्रेताहरूलाई लक्षित गरी ‘एनसेल सुपर सेलर’ योजना ल्याएको हो ।
यस योजनाअन्तर्गत खुद्रा विक्रेताले बम्पर उपहारस्वरुप कार, युरोप भ्रमण र आईफोन एक्सजस्ता आकर्षक उपहारहरू जित्न सक्नेछन् ।
चैत १ गतेदेखि लागू भएको उक्त योजना १० महिनासम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । उक्त योजनामा सामेल हुनका लागि खुद्रा विक्रेताले एनसेलको रिचार्ज कार्ड, सिम कार्ड वा भीएफटी (भर्चुअल फण्ड ट्रान्सफर) खरिद तथा विक्रीको कारोबार गरी आफ्नो प्रत्येक कारोबारका आधारमा अंक जम्मा गर्दै गई निश्चित अंक संकलन गर्नुपर्दछ ।
यस योजनाअन्तर्गत खुद्रा विक्रेताहरूले प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज गरी चार प्रकारका समूहमध्ये कुनै एक समूहमा आफूलाई सहभागी गराई उपहार पाउन सक्छन् । बम्पर उपहारबाहेक खुद्रा विक्रेताहरुले निश्चित अंक संकलन गरेपछि बाइक, स्कुटर, ५५ इन्चको स्मार्ट टीभी, एयर कन्डिसनर, आईप्याड, इलेक्ट्रिक ट्रेडमिल, वाशिङ मेशिन र ल्यापटपलगायतका विभिन्न उपहारहरू जित्न सक्नेछन् ।
‘एनसेल सुपर सेलर’ योजना लागू भएको ६ महिनापश्चात खुद्रा विक्रेताहरुले आफूले संकलन गरेका आवश्यक अंकका आधारमा उपहार दाबी गर्न सक्नेछन् । यस योजनामा सहभागिता जनाउनका लागि खुद्रा विक्रेताहरुले रिचार्ज कार्ड, सिम कार्ड वा भीएफटी एनसेलको सेल्स एण्ड डिष्ट्रिब्युसन एपबाट खरिद गरेको हुनुपर्नेछ ।
कम्पनीका अनुसार उक्त योजनाको चार समूहअन्तर्गत खुद्रा विक्रेताहरूले ३ हजार ७ सयभन्दा बढी उपहारहरू जित्नेछन् । साथै योजनामा सहभागी मध्ये उत्कृष्ट १० हजार खुद्रा विक्रेताहरुलाई पनि एनसेल गिफ्ट ह्याम्पर प्रदान गरिने कम्पनीले जनाएको छ ।

