होसियार ! काठमाडौंमा पनि देखा पर्यो बर्डफ्लु | २८ हजार कुखुरा नष्ट, नष्ट गर्ने कार्य जारी, बच्ने उपाय हेर्नुहोस्
काठमाडौं । कुखुराको मासु खाँदा होसियार रहनुहोला ! तीन साताअघि हेटौंडाका पोल्ट्री फार्ममा देखिएको बर्डफ्लु नामको कुखुरामा लाग्ने रोग काठमाडौंमा पनि देखिन थालेको छ । काठमाडौंको ताकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्मका कुखुरामा उक्त रोग लागेको पुष्टि भएको हो ।
तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखरामा बर्डफ्लु भएको पुष्टि भएको छ । बर्डफ्लू लागेको पुष्टि भएपछि दुवै फार्मका गरी २८ हजार कुखुरा नष्ट गरिएको नगर पशुशाखा प्रमुख डा. जयप्रकाश राय यादवले जानकारी दिए ।
उनले कुखुराबाट अत्यन्त चाँडो मान्छेमा सर्न सक्ने यो रोगको संक्रमण गतवर्ष ती फार्मका हाँसमा पनि देखिएको थियो । पुनः कुखुरामा सङ्क्रमण देखिएका कारण अहिलेसम्मको अध्ययनबाट पत्ता लगाउन नसकिएको उनले बताए । बर्डफ्लु लागेको पुष्टि भएपछि प्रभावित क्षेत्रमा रहेका पोल्ट्रीफार्मका कुखुरा नष्ट गर्ने काम भइरहेको छ । अन्य पोल्ट्रीफार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेकाले परीक्षणका लागि पठाइसकिएको बताइएको छ ।
प्रमुख यादवका अनुसार चार किल्लाभित्रका पन्छी नष्ट गरी खाडलमा पुरिएकोे छ भने बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्ने काम भइरहेको बताइएको छ ।
बर्डफ्लु कसरी जाँचिन्छ ?
कुखुरामा बर्ड फ्लूको सङ्क्रमण थाहा पाउने पहिलो विधि हो– र्यापिड टेस्ट । यो टेस्टको सुविधा देशका क्षेत्रीय प्रयोगशालाहरूमा छ । यसबाट ए समूहको भाइरस हो कि होइन भन्ने पत्ता लगाएपछि अर्को टेस्टका लागि केन्द्रीय प्रयोगशालामा पठाइन्छ । केन्द्रीय प्रयोगशालाले एचफाइभ एनवान हो, होइन पत्ता लगाउने काम गर्छ ।
बर्डफ्लुका लक्षणहरू के के हुन् ?
बर्ड फ्लूको विषयमा वैज्ञानिकहरूले समेत सबै कुरा पत्ता लगाइसकेका छैनन् । पोल्टी फार्म वा घरमा पालिएका कुखुरामा सिँगान काड्ने, लोती सुन्निने, लोती र सिउर हरियो हुने, डाइरिया हुने लक्षण देखा परी अप्रत्याशित रूपमा कुखुरा मर्न थाल्छन् । यसरी अप्रत्याशित रूपमा भकाभक कुखुरा मर्न थाले भने बर्डफ्लु लागेको शंका गर्न सकिन्छ ।
बच्ने उपाय
बर्डफ्लू मानिसमा सर्यो भने महामारीको रूप लिन सक्छ, अहिलेसम्म मानवमा बर्डफ्लू सरिसकेपछि उपचार गर्ने विधि नेपाल भित्रिइसकेको छैन । यसबाट बच्नका लागि निम्न उपायहरू अपनाउन सकिन्छः
– तपाईं बस्ने घरवरपर कुनै पनि पन्छी मरेको देख्नेबित्तिकै सचेत हुनुहोस्, आफैं जान्ने भएर टिपेर फ्याल्नेतिर नलाग्नुस् ।
– आफ्ना बालबालिकालाई त्यस्ता पन्छीहरूको छेउछाउमा जान नदिनोस् ।
– कुखुरा तथा पन्छीको मासु मज्जाले धोएपछि राम्ररी पकाएर मात्रै खाने गर्नुहोस् ।
– तपाईंको टोल छिमेकमा कुखुरा तथा पन्छीहरू मरेको देख्नुभएको छ भने तुरुन्तै सरकारी अधिकारी तथा सम्बन्धित स्थानीय निकायहरूमा खबर गर्नुहोस् ।
– तपाईंको टोल छिमेकमा कुखुरा तथा पन्छीहरू मरेको थाहा पाउनुभयो या शंका लाग्यो भने माक्स लगाएर हिँड्नुहोस् ।



