पोखराका २६ प्याराग्लाइडिङ कम्पनी आजदेखि बन्द, असारसम्म पनि नवीकरण नगरे सधैंका लागि बन्द |
काठमाडौं । पोखराका २६ प्याराग्लाइडिङ कम्पनीको उडान आज आइतवारदेखि बन्द गरिने भएको छ । अल्टिमेटम दिएको समयमा पनि नवीकरण नगरेकाले पोखरा महानगरपालिका राजस्व परामर्श समितिको हिजो शनिवार बसेको बैठकले ती कम्पनीका प्याराग्लाइडिङलाई उड्न नदिने निर्णय गरेको हो ।
पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले नवीकरण नगर्ने २६ कम्पनीलाई आजबाट उडान गर्न नदिने निर्णय भएको जानकारी दिए ।
पोखरका सबै प्याराग्लाडिङ कम्पनीले चार वर्षदेखि कम्पनी नवीकरण नगरी उडान गर्दै आएका थिए । तिमिल्सिनाका अनुसार महानगरपालिकाले पटक–पटक सूचना र पत्राचार गर्दा एक साताभित्र नवीकरण गर्ने प्रतिवद्धता जनाएका ती कम्पनीले आफ्नै प्रतिबद्धता लत्याउँदा उडान नै बन्द हुने अवस्था आएको हो ।
पोखराको आकाशमा उड्ने ५६ मध्ये ३० कम्पनीले भने नवीकरण गरिसकेका छन् । आइतवारपछि आउने कम्पनीलाई थप जरिवाना लिएर मात्रै नवीकरण गर्ने निर्णय बैठकले गरेको तिमिल्सिनाले बताए ।
दुई साताअघि लगातार प्याराग्लाडिङ दुर्घटनामा पर्यटकले ज्यान गुमाएपछि महानगरले ती कम्पनीको आधिकारिकता बुझ्दा उनीहरूले सरकारी निकायको सूचनालाई बेवास्ता गर्दै बिनानवीकरण उडान गरिरहेको खुलेको थियो ।
महानगरले चैतभित्र नवीकरण गर्नेलाई थप ५ हजार जरिवाना तोकेको छ । यस्तै, वैशाखमा आउनेलाई १० हजार र त्यसपछि असारसम्म आउनेलाई १५ हजार जरिवाना लिने निर्णय बैठकले गरेको छ । असारसम्म पनि नवीकरण गर्न नआउने कम्पनीको नवीकरण नै नगर्ने र पोखरा क्षेत्रमा उडान गर्न पनि नदिने निर्णय भएको महानगरपालिकाले बताएको छ ।



