सरकारले बनाउने विद्युत आयोजनालाई सरल प्रक्रिया, क्रेडिट रेटिङ गर्न नपर्ने |
काठमाडौं । सरकारले ल्याएको जनताको जलविद्युत कार्यक्रमअन्तर्गतको आयोजनाले अग्रिम शेयर निष्कासनका लागि क्रेडिट रेटिङ गर्नु नपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले आज बिहीवार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै जनताको जलविद्युत कार्यक्रमअन्तर्गतका संगठित संस्थाहरूले धितोपत्रको प्रारम्भिक र सार्वजनिक शेयर निष्कासन गर्दा क्रेडिट रेटिङ गर्न नपर्ने जानकारी गराएको हो ।
कम्पनीले क्रेडिट रेटिङ नियमावली ०६८ को नियम तीनको उपनियम ७ बमोजिम ३ करोड रुपैयाँभन्दा माथिको सार्वजनिक शेयर निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थालाई उल्ट्याउँदै बोर्डले यस्तो व्यवस्था गरेको हो ।
बोर्डले यसअघि धितोपत्र निष्कासनसम्बन्धी नियमावली परिवर्तन गर्दै जनताको जलविद्युत कार्यक्रमअन्तर्गतका आयोजनाले अग्रिम रूपमा शेयर निष्कासन गर्न पाउने व्यवस्था गरेको थियो । जनताको जलविद्युत कार्यक्रमअन्तर्गतका १९ वटा आयोजनाका लागि आवश्यक पूँजी जुटाउन सरकारको निर्देशनबमोजिम शुरूमै शेयर निष्कासन गर्न पाउने व्यवस्था गरेको थियो ।

