बूढीगण्डकीको काम अगाडि बढ्यो | आयोजनाको डुबान क्षेत्रमा तथ्यांक संकलन कार्यले लियो गति
गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने घरगोठ, फलफूल र बोटबिरुवाको तथ्यांक संकलन कार्य शुरू भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा निमार्ण गर्न लागिएकोे उक्त आयोजनाको पुनःबास तथा पुनःस्थापना एकाइले हिजो बुधवारदेखि गोरखा र धादिङ दुवै जिल्लाका डुबान क्षेत्रमा तथ्यांक संकलन गर्न शुरू गरेको हो ।
उक्त कार्यका लागि दुवै जिल्लाका कृषि ज्ञान केन्द्र, भवन डिभिजन कार्यालय र वन कार्यालयका प्राविधिक परिचालन गरिएको आयोजनाले जानकारी दिएको छ । पुनःबास तथा पुनःस्थापना एकाइ सिउरेनिटार कार्यालयका प्रमुख कृष्ण कार्कीले भने, ‘हिजोदेखि गोरखातर्फ गण्डकी गाउँपालिकाको घ्याल्चोक बसेरी र धादिङतर्फ सलाङबाट तथ्यांक संकलन शुरू भएको छ, दुई महीनाभित्रमा सक्ने गरी प्राविधिक परिचालन गरेका छौँ ।’
डुबान क्षेत्रमा पुगेर तालीमप्राप्त प्राविधिकले घरगोठ, फलफूल, रुख र अन्य संरचनाको लगत संकलन गर्ने बताइएको छ । उक्त कार्यमा खटिने प्राविधिकले मोबाइल एप्लिकेसनमार्फत तथ्यांक संकलन गर्ने व्यवस्था गरिएको बताइएको छ ।
आयोजनाले भवन डिभिजन कार्यालय, वन कार्यालय र कृषि कार्यालयबाट चार–चार जना प्राविधिकलाई तालीम दिएर काममा खटाइएको आयोजनाले बताएको छ । कार्कीका अनुसार भवनबाट खटिएका प्राविधिकले घरगोठको, वन कार्यालयबाट खटिएका प्राविधिकले रुख तथा बोटबिरुवाको र कृषि ज्ञान केन्द्रबाट खटिएका प्राविधिकले डुबान क्षेत्रमा पर्ने फलफूलको तथ्यांक संकलन गरेर ल्याउनेछन् ।
छिटो र सजिलो तथा विश्वसनीय ढंगले तथ्यांक सङ्लकन होस् भनेर आयोजनाले विशेष प्रविधियुक्त मोबाइल एप्लिकेसनको निर्माण गरेको बताइएको छ । ती प्राविधिकले डुबान क्षेत्रका प्रभावितको घरघरमै पुगेर तस्वीरसहितको तथ्यांक संकलन गर्नेछन् । तथ्यांक संकलन गरी कार्यालयमा ल्याएलगत्तै मुआब्जा निर्धारण गरी रकम वितरणको काम शुरू गरिने कार्कीले जानकारी दिए ।
आयोजनाबाट गोरखातर्फ गण्डकी गाउँपालिका, शहीदलखन गाउँपालिका, आरुघाट गाउँपालिका, भीमसेन थापा गाउँपालिका र आरुघाट गाउँपालिकामा गरी कुल ३० हजार रोपनी क्षेत्रफल जमीन डुबानमा पर्ने बताइएको छ ।

