शेयरबजारका साना लगानीकर्तालाई सरकारले दियो छुट | अबदेखि ५ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्नेलाई मात्र प्यान नम्बर अनिवार्य
काठमाडौं । अब ५ लाखभन्दा कमको कारोबार गर्ने शेयर लगानीकर्ताले स्थायी लेखा नम्बर (प्यान नम्बर) लिनुनपर्ने भएको छ । आगामी बैशाख १ गतेदेखि शेयर लगानीकर्ताहरूका लागि प्यान नम्बर अनिवार्य गर्ने भनिएकोमा सरकारले त्यसमा संशोधन गर्दै एक पटकमा ५ लाखभन्दा कमको शेयर कारोबार गर्नेले प्यान नम्बर लिनु नपर्ने व्यवस्था गरेको हो ।
नेपाल धितोपत्र बोर्डका अनुसार आगामी बैशाख १ गतेदेखि दोस्रो बजारमा १ पटकमा ५ लाख वा सोभन्दा बढी कारोबार गर्ने लगानीकर्ताले भने अनिवार्य रूपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने हुन्छ । साना–ठूला शेयर लगानीकर्तालाई करको दायरामा ल्याउन चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजनामा दोस्रो बजारमार्फत शेयर खरिद गर्दा लगानीकर्ताले स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने नीतिगत व्यवस्था गर्ने विषय समेटिएको थियो ।
तर, लगानीकर्ता तथा सम्वद्धपक्षहरुसँगको छलफल तथा अर्थ मन्त्रालयबाट प्राप्त उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले गरेको निर्णयअनुसार बोर्डले साना लगानीकर्तालाई प्रोत्साहन गर्न ५ लाखभन्दा कमको शेयर कारोबार गर्ने लगानीकर्तालाई प्यान नम्बर अनिवार्य नगर्ने निर्णय भएको जानकारी दिएको छ ।
आज बिहीवार बोर्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साना लगानीकर्ताहरूलाई प्रोत्साहित गर्न हाललाई ऐच्छिक रूपमा गर्न सक्ने व्यवस्था गर्ने नेपाल धितोपत्र बोर्डले निर्णय गरेको छ । लगानीकर्ताहरू तथा अन्य सरोकारवालाहरुको सुझावअनुसार गरिएको यो व्यवस्थाले दोस्रो बजारको कारोबारमा स्थायी लेखा नम्बर कार्यान्वयन सहज रूपमा अगाडि बढ्ने अपेक्षा बोर्डले गरेको छ ।’
हालसम्म संस्थागत लगानीकर्ताहरूले प्यान नम्बर लिएको भए पनि व्यक्तिगत लगानीकर्ताहरूले भने लिएका छैनन् । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट वक्ताव्यमै शेयर लगानीकर्ताहरूका लागि प्यान नम्बर अनिवार्य गरिने उल्लेख गरेअनुसार गत कात्तिकमा अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई प्यान नम्बर अनिवार्य गर्न पत्राचार गरेको थियो । त्यसपछि बोर्डले नेप्सेलाई आवश्यक गृहकार्य गर्न पत्राचार गरेपछि लगानीकर्ताका केही समूहहरू उक्त व्यवस्थाको विरोधमा थिए ।




