त्रिशूली जलविद्युतले रू. ३७ करोड ५ लाखको अग्रिम शेयर निष्कासनका लागि दियो निवेदन | माउन्टेन इनर्जी नेपालको पनि ३९ करोड ३६ लाख रुपैयाँबराबरको आईपीओ आउँदै
काठमाडौं । ‘नेपालको पानी जनताको लगानी’ अन्तर्गतको त्रिशूली जलविद्युत् कम्पनीको ३७ करोड ५ लाख रुपैयाँबराबरको अग्रिम शेयर बजारमा आउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आगामी चैत ४ गते उक्त कम्पनीको शेयर गर्ने घोषणा गरिएको थियो । प्रधानमन्त्रीको सोही घोषणालाई कार्यान्वयनमा ल्याउन पनि यो कम्पनीले सार्वजनिक शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।
उक्त कम्पनीको शेयर निष्कासनका लागि ग्लोबल आईएमई क्यापिटल विक्री प्रबन्धकमा नियुक्त भइसकेको छ । कम्पनीले नुवाकोट तथा रसुवा जिल्लामा ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री बी आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाले दोस्रो पटक सार्वजनिक शेयर निष्कासन नहुँदासम्म अग्रिम रूपमा गरिएको लगानीको प्रचलित ब्याज रकमबराबरको बोनस शेयर दिने घोषणा गरिएको छ ।
त्यस्तै, माउन्टेन इनर्जी नेपालले पनि ३९ करोड ३६ लाख रुपैयाँबराबरको प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । उक्त कम्पनीले दुईवटा आयोजना निर्माण गरिरहेको छ । कम्पनीले प्राथमिक शेयर निष्कासन गर्नका लागि गरेको रेटिङ अनुसार ‘केयर एनपी आईपीओ ग्रेड ४’ प्राप्त गरेको छ । यस्तो रेटिङले मध्यम किसिमको सुरक्षाको संकेत गर्दछ ।
कम्पनीले ५ मेगावाट क्षमताको टाँडी खोला जलविद्युत आयोजना र ४२ मेगावाट क्षमताको मिस्त्री खोला हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट निर्माण गरिरहेको छ । दुवै आयोजना निर्माणका लागि कम्पनीले ३९ करोड ३६ लाख रुपैयाँको प्राथमिक शेयर निष्कासन गर्न लागेको हो । सार्वजनिक शेयर निष्कासनका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।




