फेरि २६८ रोजगार संयोजकका लागि दरखास्त माग, म्याद चैत ९ गतेसम्म |
काठमाडौं । सरकारले ७५३ वटै स्थानीय तहमा नियुक्त गर्ने रोजगार संयोजकका लागि आज बिहीवारदेखि पुनः दर्खास्त आह्वान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले एक सूचना जारी गरी रिक्त रहेको २६८ रोजगार संयोजकको पदपूर्ति गर्न पुनः आवेदन माग गरेको हो । उक्त पदका लागि इच्छुक उम्मेदवारले यही फागुन ३० देखि आगामी चैत ९ गतेसम्म आवेदन गर्न सकिने जनाएको छ ।
यसअघि गत महिना मात्र ७५३ स्थानीय तहमा रहेर कामकाज गर्ने गरी रोजगार संयोजकको आवेदन माग गरिएको थियो । तर, विद्युतीय परीक्षामा उत्तीर्ण हुन नसक्दा २६८ स्थानीय तहमा रोजगार संयोजक छनोट हुन सकेको थिएनन् । उक्त चरणमा २३ हजार ९६८ को आवेदन परे पनि ४८५ जना मात्र छनोट हुन सफल भएका थिए ।
अहिले आह्वान गरिएको ती पदका लागि पनि प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाइट www.pmep.gov.np बाट अनलाइन फाराम भर्न सकिने उक्त सूचनामा उल्लेख गरिएको छ । रिक्त रहेका स्थानीय तहमा २४९ शाखा अधिकृत र १९ नायब सुब्बास्तरका रोजगार संयोजकको पदपूर्ति गरिने मन्त्रालयले जनाएको छ ।
सोअन्तर्गत प्रदेश नं १ मा ६६ शाखा अधिकृत र पाँच नासु, प्रदेश नं २ मा ४५ शाखा अधिकृत, प्रदेश नं ३ मा ३१ शाखा अधिकृत र एक नासु, गण्डकी प्रदेशमा १४ शाखा अधिकृत र एक नासु, कर्णाली प्रदेशमा ४३ अधिकृत र ११ नासु तथा सुदूरपश्चिम प्रदेशमा ५० अधिकृत र एक नासु पदको पदपूर्ति गरिनेछ ।

