घरेलु उद्योग र कृषिका प्राथमिक उत्पादन क्षेत्रमा विदेशी लगानी रोक्न चेम्बरको माग |
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले सबै क्षेत्रमा वैदेशिक लगानी खुल्ला गर्न आवश्यक नरहेको बताउँदै संसदमा विचाराधीन अवस्थामा रहेको ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानूनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयक, २०७५’ मा व्यवस्था गरिएको प्रावधानमा संशोधन गर्न माग गरेको छ । नेपाल चेम्बरले उक्त प्रावधानले गर्दा आन्तरिक पूँजी परिचालन गरी उत्पादनमा आत्मनिर्भर भएका नेपाली उद्यमी व्यवसायी मारमा पर्ने बताएको छ ।
नेपाल चेम्बर हिजो एक विज्ञप्ति प्रकाशित गर्दै स्वदेशी सीप, प्रविधि, जनशक्ति र पूँजी परिचालन गर्न सकिने क्षेत्रमा वैदेशिक लगानीलाई प्रवद्र्धन नगर्न सरकारसँग आग्रह गरेको हो ।
नेपाल चेम्बरले राष्ट्रको समग्र विकासका लागि वैदेशिक लगानी अपरिहार्य भए तापनि आन्तरिक पूँजी परिचालन गरी स्वदेशी सीपको जगेर्ना, प्रयोग र विकाससँग सम्बन्धित कतिपय क्षेत्रमा नेपाली नै सक्षम रहेकाले विदेशी लगानी प्रवद्र्धन नगर्न सरकारसँग आग्रह गरेको हो । वैदेशिक लगानी, आन्तरिक पूँजीले सम्भव नहुने उच्च प्रविधियुक्त ठूला परियोजना र ‘मेगा–इण्डस्ट्री’मा उपयुक्त हुने चेम्बरको ठहर छ ।
विज्ञप्तिमा भनिएको छ, ‘लघु उद्योग र घरेलु उद्योगअन्तर्गत कृषिका प्राथमिक उत्पादनका क्षेत्र, पशुपालन, मत्स्यपालन, मौरीपालन, दुग्ध प्रशोधन, कार्गो सेवा एवम् शैक्षिक परामर्शजस्ता अति महत्वपूर्ण व्यवसायमा वैदेशिक लगानी भित्र्याउँदा त्यसबाट राष्ट्रलाई फाइदा भन्दा बेफाइदा नै हुन सक्ने भएकाले सरकारको यसतर्फ ध्यानाकर्षण होस् ।’



