बजारमा ३ अर्बको मुद्दति निक्षेपको अवसर, कुन वाणिज्य बैंकले फुत्काउला ? |
काठमाडौं । बजारमा लगानीयोग्य पूँजीको अभाव भइरहेको बेला वाणिज्य बैंकका लागि ठूलो पूँजी हात पार्ने अवसर आएको छ । नेपाल दूर सञ्चार प्राधिकरणले ३ अर्बको मुद्दति निक्षेपको अवसर दिन लागेको हो । तर, उक्त निक्षेपका लागि वाणिज्य बैंकहरूबीच कसले बढी ब्याज दिने भनेर ठूलै प्रतिस्पर्धा हुने देखिएको छ ।
अब जसले बढी ब्याज दिन्छ, उसैले उक्त रकम मुद्दति निक्षेपमा लिन्छ । यद्यपि संस्थागत निक्षेप ४५ प्रतिशतभन्दा बढी वाणिज्य बैंकले लिन नपाउने कानुनी व्यवस्था रहेको छ । नेपाल दूर सञ्चार प्राधिकरणले रोयल्टी, नवीकरण दस्तुरलगायतबाट प्राप्त भएको ३ अर्ब रुपैयाँ १ वर्षका लागि मुद्दति निक्षेपमा राख्ने भएको हो । प्राधिकरणले त्यसका लागि बैंकको खोजी पनि शुरू गरिसकेको छ ।
प्राधिकरणको उक्त मात्राको रकम निक्षेपमा लिन चाहने वाणिज्य बैंकहरूले आफूले लिन चाहेको रकम र प्रस्तावसहित चैत ५ गतेभित्र प्राधिकरणमा आवेदन दिनुपर्नेछ । अधिकतम ब्याजदर प्रस्ताव गर्ने वाणिज्य बैंकले अब उक्त रकम १ वर्षका लागि मुद्दति निक्षेपमा लिन सक्नेछन् ।
‘३ अर्ब रुपैयाँ मुद्दति निक्षेपमा राख्न लागेका हौं, उपयुक्त वाणिज्य बैंकहरूले आवेदन दिन सक्छन्’, प्राधिकरणका निमित्त अध्यक्ष पुरुषोत्तम खनालले भने ।
वाणिज्य बैंकहरूले न्यूनतम २० करोड रुपैयाँका लागि आवेदन दिन सक्नेछन् । अधिकतम ब्याजदर प्रस्ताव गर्ने बैंकलाई निक्षेप दिइनेछ । बैंकले पुस मसान्तको अपरिस्कृत वित्तीय विवरणमा समावेश भएका ६ वटा परिसूचक उल्लेख गरेर आवेदन दिनुपर्नेछ । प्रस्तावमा क्यापिटल एडेक्वेसी रेसियो, खराब कर्जा अनुपात, सीसीडी रेसियो, एसएलआर, नेट लिक्विडिटी रेसियो (एनएलआर) र प्रतिशेयर नेटवर्थसमेत उल्लेख गर्नुपर्नेछ ।



