लघुवित्तलाई अब विकास बैंकमा स्तरोन्नति गरिन्छ : अर्थमन्त्री | छ महिनामा साना किसानको २३ करोड ९१ लाख खुद मुनाफा
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लघुवित्त वित्तीय संस्थालाई मर्जरको बाटोबाट विकास बैंकमा स्तरोन्नति गर्न लागिएको बताएका छन् । उनले साना किसान विकास लघुवित्त वित्तीय संस्थाको १८औं वार्षिकोत्सवको अवसरमा हिजो सोमवार आयोजित कार्यक्रममा त्यस्तो भनाइ राखेका हुन् ।
उनले भने, ‘साना किसान विकासले उत्पादनमा वृद्धि गरी सहकारी अभियानको बाटोमा लाग्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । अब यस्ता लघुवित्तलाई मर्जरको बाटोबाट विकास बैंकमा स्तरोन्नति गर्ने बारेमा सोचिरहेका छौं ।’ लघुवित्तको संख्या धेरै भएको र त्यस्ता संस्थाको लगानीलाई एकीकृत गरी पूँजी निर्माण गरेर परिचालन गर्न पनि मर्जरको विकल्प सोचिएको उनको भनाइ थियो ।
उनले भने, ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन संशोधनमार्फत यो विषय अघि बढाउन खोजेका छौं ।’ नेपालमा २१ प्रतिशत परिवार अझै पनि निरपेक्ष गरिबीको रेखामुनि छन्, त्यसलाई घटाउने गरी स्थानीय तहमा काम गर्ने यस्ता संस्थाले काम गर्नुपर्नेमा उनको जोड थियो ।
अर्धवार्षिक अवधिमा साना किसानको २३ करोड ९१ लाख खुद मुनाफा
वार्षिकोत्सव कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइरालाले अर्धवार्षिक अवधिमा साना किसानले २३ करोड ९१ लाख खुद मुनाफा गरेको जानकारी दिए । समारोहमा प्रमुख कार्यकारी अधिकृत डा. कोइरालाले दिएको जानकारीअनुसार संस्थाको अधिकृत तथा जारी पूँजी रू. १०० करोड पुगेको र चुक्तापूँजी रू. ७८ करोड ६० लाख ३५ हजार रहेको छ । वित्तीय संस्थाको शेयर पूँजीमा साना किसानहरूको हिस्सा ४४ प्रतिशत रहेको छ ।
गत पुसमा यस वित्तीय संस्थाको कुल सम्पत्ति २० अर्ब पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशतले बढी रहेको संस्थाले जानकारी दिएको छ । संस्थाले १७ अर्ब ३८ करोड ऋण प्रवाह गरेको छ भने प्रतिशेयर आम्दानी रू. ५०.०१ रहेको छ ।
संस्थाले लघुकर्जा, सहुलियत ब्याजदरमा दूध तथा मासुजन्य पशुपालन कर्जा, भूकम्प पीडितहरूका लागि जीविकोपार्जन पुनːस्थापना कर्जा, वैकल्पिक ऊर्जा कर्जा, चिया उद्योग सञ्चालन कर्जाजस्ता किसानका मागअनुसारका कर्जा कार्यक्रम सञ्चालन गर्दै आइरहेको प्रमुख कार्यकारी अधिकृत डा. कोइरालाले बताए ।

