भरतपुर विमानस्थलले थप्यो आधुनिक स्क्यानर, अब झोला खोतल्नै नपर्ने |
चितवन । भरतपुर विमानस्थलमा अत्यावश्यक उपकरण थप्ने र भौतिक संरचना निर्माणको कार्यलाई तीव्रता दिइएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमका अनुसार उक्त विमानस्थलका लागि रू. ९० लाखमा लगेज स्क्यान गर्ने उपकरण खरीद भइसकेको छ ।
विमानस्थलमा लगेज स्क्यानर नहुँदा यात्रुको झोला खोलेर देखाउनुपर्ने बाध्यता रहेको थियो । साथै विमानस्थलको स्तरोन्नतिको कार्य पनि तीव्रताका साथ अगाडि बढेको छ । यसै क्रममा धावनमार्ग ‘ओभर ले’ गरिँदै छ । १ हजार २ सय मिटरको धावनमार्गलाई निर्माणपछि हालसम्म ‘ओभर ले’ गरिएको छैन ।
साँघुरो पार्किङ क्षेत्रलाई पनि विस्तार गर्ने कार्य भइरहेको छ । साना चारवटा अट्ने पार्किङ क्षेत्रलाई दुवैतर्फ कम्तीमा पनि २०÷२० मिटर थप गर्न लागिएको छ । एउटा हेलिप्याड छुट्टै बनाउने र बाँकी चारवटा विमान सजिलैसँग अटाउने गरी पार्किङको व्यवस्थापन गर्न लागिएको हो । सबै काम यसै आर्थिक वर्षमा शुरू हुने उनले बताए । धावनमार्गको विस्तारसँगै ठूला जहाज अवतरण गर्न र रात्रिकालीन सेवासमेत दिन सकिने विमानस्थल कार्यालयले बताएको छ ।

