शाइन रेसुङ्गा र पूर्णिमा विकास बैंक मर्ज हुँदै | नाम शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड रहने
बुटवल । रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक र सोही जिल्लाको भैरहवामा केन्द्रीय कार्यालय रहेको पूर्णिमा विकास बैंक मर्ज हुने भएका छन् । शाइन रेसुंगाले पूर्णिमालाई प्राप्ति (एक्विजिसन) गर्ने भएको हो । सोसम्बन्धी सम्झौतापत्रमा हिजो आइतवार शाइन रेसुङ्गाका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र पूर्णिमाका अध्यक्ष सुरज उप्रेतीले हस्ताक्षर गरेका हुन् ।
शाइनको १० जिल्ला र पूर्णिमाको ३ जिल्ला कार्यक्षेत्र रहेका छन् । शाइन रेसुङ्गाको चुक्ता पूँजी १ अर्ब ६२ करोड २६ लाख र पूर्णिमाको चुक्तापूँजी रू. ५५ करोड १२ लाख रहेको छ । शाइन रेसुङ्गाको निक्षेप १६ अर्ब १० करोड २३ लाख र पूर्णिमाको ३ अर्ब ३५ करोड ६१ लाख रहेको छ भने कर्जातर्फ शाइनको १४ अर्ब ५२ करोड ३६ लाख र पूर्णिमाको रू. ३ अर्ब ४ करोड ६७ लाख रहेको छ ।
४० वटा शाखा कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक र १२ वटा शाखा कार्यालय रहेको पूर्णिमा विकास बैंकको एक्विजिशनपछि एकीकृत बैंकको नाम शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड राख्ने सहमति भएको छ । यस्तै, प्रमुख कार्यकारी अधिकृतमा शाइनकै सीईओ प्रकाश पौडेल र नायब प्रमुख कार्यकारीमा पूर्णिमाका सीईओ प्रकाश गुरुङ रहने सहमति भएको छ । एक्विजिसनपछि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक राष्ट्रियस्तरको बैंक हुनेछ भने बैंकको केन्द्रीय कार्यालय बुटवलमा रहनेछ ।
यसअघि शाइन रेसुङ्गा बैंकले प्युठानको गौमुखी विकास बैंकलाई गाभेको थियो । त्यसअघि रुपन्देहीमा स्थापित शाइन र गुल्मीको रेसुङ्गा एकआपसमा गाभिएर शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक बनेको हो । हस्ताक्षर कार्यक्रममा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका अध्यक्ष श्रेष्ठले बैंकलाई प्रदेश ५ का सबै घरमा विस्तार गरी आर्थिक समृद्धिमा टेवा पुर्याउने योजनाका साथ अघि बढ्ने बताए ।
पूर्णिमा विकास बैंकका अध्यक्ष सुरज उप्रेतीले बैंकलाई दिगो रूपमा सञ्चालन गर्नका लागि नै एक्विजिसनमा जानुपरेको बताए । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले पूर्णिमाको एक्विजिसनपछि शाइन रेसुङ्गा राष्ट्रियस्तरको सबल, सफल र सुदृढ विकास बैंकका रूपमा स्थापित जानकारी दिए ।

