सीजीको राजस्व योगदान साढे ९ अर्ब | अघिल्लो वर्षको तुलनामा २२.७२ प्रतिशतले बढी, यो वर्ष २० अर्ब लगानी गर्ने
काठमाडौं । नेपालको ठूलो औद्योगिक घराना चौधरी ग्रुपले सरकारलाई गत आर्थिक वर्षमा राजस्वबापत साढे ९ अर्बभन्दा बढी योगदान गरेको छ । उक्त समूहले सरकारी राजस्वमा अघिल्लो आव २०७३०७४ को भन्दा २२.७२ प्रतिशतले बढी अर्थात् रू. ९ अर्ब ६७ करोड योगदान गरेको हो । चौधरी ग्रुपले अघिल्लो आव २०७३०७४ मा रू. ७ अर्ब ८८ करोड राजस्वमा योगदान गरेको थियो ।
गतआवमा संकलन भएको कुल सरकारी राजस्वमा ग्रुपसम्वद्ध कम्पनीमार्फत् गरिएको राजस्वको योगदान १.६४ प्रतिशत रहेको छ ।चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘सरकारी राजस्वमा उच्च योगदान पु¥याउन सकेकोमा हामी गौरवान्वित छौं । नेपालमा बढ्दो लगानी र फैलिँदै गएको व्यवसायबाट अन्ततः रोजगारी सृजना र राजस्वमा हाम्रो योगदान बढ्दै गएको छ ।’
उनले थपे, ‘हामी उच्च व्यावसायिक मर्यादा र पारदर्शितामा विश्वास गर्छौं । हाम्रो प्रयासले राष्ट्रिय विकासमा योगदान पुग्नेछ भन्ने हाम्रो विश्वास छ ।’
चौधरी ग्रुपले चालू आर्थिक वर्ष २०७५०७६ मा नेपालमा २० अर्ब लगानी गर्ने जानकारी पनि दिएको छ । त्यसका लागि उक्त समूहले केही प्रोजेक्ट सम्पन्न गरिसकेको छ भने केही कार्यान्वयन चरणमा रहेका छन् ।
चौधरी ग्रुपका मुख्य प्रोजेक्टहरूमा पाल्पामा देशकै ठूलोमध्येको एक खानीसहितको सिमेण्ट उद्योग, काठमाडौंमा ताज भिभान्ता होटल, चितवनमा सपिङ मल, होटलसहित मल्टिप्रपोज मल ‘ल्याण्डमार्क’, सुनसरीमा सीजी इण्डस्ट्रियल पार्क, १८ मेगावाट क्षमताको मिडिल मोदी, ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजनालगायत रहेका छन् ।
सीजीले सीजी इण्डस्ट्रियल पार्क नवलपुरमा रहेका उद्योगहरूको विस्तार र आधुनिकीकरणमा पनि लगानी विस्तार गरेको छ, जसमा सिजी ब्रुअरी, प्याकेजिङ, स्न्याक्स फुड एवम् सफ्ट ड्रिंक्सलगायतका उद्योग रहेका छन् ।
चौधरी ग्रुप देशकै अत्याधुनिक प्रविधियुक्त डिजिटल टेलिकम कम्पनी ‘सिजी लाइफसेल’ कार्यान्वयनको तयारीमा रहेको छ । यस परियोजनामा मात्रै करिब २५ अर्ब लगानी हुने कम्पनीले बताएको छ ।

