‘मेरो सुरक्षा’को शाखा कार्यालय अब नारायणगढमा पनि |
काठमाडौं । मेरो सुरक्षा प्रालिले आफ्नो सेवा देशभर विस्तार गर्ने क्रममा हालै चितवनको नारायणगढमा पनि शाखा स्थापना गरी सेवा आरम्भ गरेको छ । सञ्चालनमा आएको छोटो समयमै मोबाइल प्रयोगकर्ताबीच लोकप्रिय बनेको मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा चितवनको नारायणगढबाट पनि मोबाइल इन्स्योरेन्स सेवा आरम्भ गरेको हो । नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याधले हिजो बिहीवार मेरो सुरक्षाको चितवन शाखाको उद्घाटन गरेका हुन् ।
सो अवसरमा अध्यक्ष चुल्याधले मेरो सुरक्षाको योजना ग्राहक, मोबाइल व्यवसायी तथा राष्ट्रको हितमा रहेको बताए । कम्पनीका अनुसार नारायणगढको ए टु जेड मोबाइल हाउसका एक दर्जनभन्दा बढी पसलहरूबाट मेरो सुरक्षाको प्रोटेक्सन प्लानमा सहभागी हुन सकिने छ । संघका महासचिव रघुनाथ तिवारीले मेरो सुरक्षाको मोबाइल इन्स्योरेन्स योजनाले प्रयोगकर्ता मात्र नभई व्यवसायी पनि लाभन्वित हुने बताए ।

कम्पनीले राजधानीमा सफलता पाएपछि उपत्यकाबाहिर पनि यसको माग बढेकाले नारायणगढमा मेरो सुरक्षाको प्रोटेक्शन प्लान सञ्चालनमा ल्याइएको मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवारले जानकारी दिए ।
निकट भविष्यमा नै पोखरा, पाल्पा, बुटवल र तनहँुबाट पनि यो सेवा शुरू हुने उनले जानकारी दिए । मेरो सुरक्षाले यसअघि वीरगञ्जमा आफ्नो सेवा विस्तार गरिसकेको छ । कम्पनीले आफ्नो सेवा शुरू गरेको पाँच महिनाको अवधिमै १० हजारभन्दा बढी मोबाइल प्रयोगकर्ता मेरो सुरक्षाको प्रोटेक्शन प्लानमा आवद्ध भइसकेका छन् ।
कम्पनीका अनुसार दैनिक १ सय ५० जना नयाँ प्रयोगकर्ता यो प्लानमा सहभागी हुने गरेका छन् । यो प्लानमा आवद्ध हुने प्रयोगकर्तालाई १ लाख रुपैयाँबराबरको बीमा सेवा पनि उपलब्ध गराउँदै आएको कम्पनीले बताएको छ ।
मेरो सुरक्षाका अनुसार जुनसुकै स्मार्टफोन बिग्रिएमा, हराएमा वा चोरी भएमा मोबाइलका प्रयोगकर्ताले प्रोटेक्शन प्लानअन्तर्गत नयाँ मोबाइल पाउनेछन् । साथै कम्पनीले हराएको सम्पूर्ण डाटा रिकभर गरी प्रयोगकर्तालाई नयाँ मोबाइल सेट उपलब्ध गराई टेन्सनमुक्त बनाउन सहयोग गर्दछ ।
मोबाइल हराएमा वा बिग्रिएको दाबी गरेको ७ दिनभित्र मेरो सुरक्षाले अर्को नयाँ मोबाइल उपलब्ध गराउनेछ । यो सेवा मोबाइल पसलहरूबाट पनि लिन सकिने कम्पनीले बताएको छ । मेरो सुरक्षाको ब्राण्ड एम्बेसडर महानायक राजेश हमाल रहेका छन् ।



