काठमाडौंका अनावश्यक यात्रु प्रतिक्षालय हटाउँदै महानगरपालिका |
काठमाडौं । काठमाडौंका अनावश्यक यात्रु प्रतीक्षालय अब हटाइने भएको छ । अनावश्यक, अव्यवस्थित र शहरलाई नै कुरुप पारेको भन्दै त्यस्ता प्रतीक्षालय महानगरपालिकाले हटाउन लागेको हो ।
महानगरपालिकाको बस स्ट्याण्ड अध्ययन कार्यदलका संयोजक एवम् वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले भने, ‘शहरमा कतै आवश्यकता नै नभएको ठाउँमा पनि बस स्ट्याण्ड भेटियो, कतैचाहिँ अत्यावश्यक भएके ठाउँमा एउटा पनि छैन । साथै यस्ता प्रतीक्षालयको आकार प्रकार र बनावट पनि मनलाग्दी पाइएको छ । यसलाई अब व्यवस्थित गर्छाैं ।’
कार्यदलले काठमाडौंका विभिन्न ठाउँमा रहेका बस स्ट्याण्डको स्थलगत अवलोकन निरीक्षणसमेत गरेको छ । संयोजक महर्जनका अनुसार अवलोकनका क्रममा देखिएका विषय समेटेर यात्रु प्रतीक्षालय निर्माण तथा सञ्चालनका लागि अधिकार सम्पन्न समितिमा प्रतिवेदन दिइनेछ । समितिले विगतमा प्राप्त भएका प्रस्ताव, शहरको विद्यमान अवस्था र आवश्यकता विश्लेषण गरेर कस्ता प्रतीक्षालय कहाँ कहाँ राख्ने भन्ने भन्ने टुंगो लगाउनेछ ।
महानगरकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीको संयोजकत्वमा गठित अधिकारसम्पन्न समितिमा कार्यदलका संयोजक न्हुच्छेकाजी महर्जन र वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल सदस्य रहेका छन् । त्यस्तै, महर्जनको संयोजकत्वमा गठित कार्यदलमा महानगरीय ट्राफिक प्रहरी कार्यालय, सडक विभाग, यातायात व्यवस्था कार्यालयका प्रतिनिधि तथा महानगरको कानुन महाशाखा, नगर प्रहरी महाशाखाका प्रमुख र पूर्वाधार विकास विभागका इञ्जिनियर सदस्य रहेका छन् । कार्यदलको सदस्य सचिवमा उपनिर्देशक गंगाधर गौतम रहेका छन् ।



