ज्योति लाइफ इन्स्योरेन्स र ह्याम्स अस्पतालबीच सम्झौता |
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स र ह्याम्स अस्पतालबीच स्वास्थ्य सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट कार्यकारी उप–प्रमुख प्रकाश विक्रम खत्री र अस्पतालको तर्फबाट अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरेका हुन् ।
व्यवसाय शुभारम्भदेखि बीमितहरूको स्वास्थ्य उपचारमा विशेष सेवा योजनास्वरूप ‘घातक रोग उपचार’ सेवासहितको बीमा योजना सार्वजनिक गर्ने पहिलो नेपाली बीमा कम्पनीको रूपमा बजारमा आएको ज्योति लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकहरूको सेवासुविधालाई ध्यानमा राखी ह्याम्स अस्पतालसँग स्वास्थ्य सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता गरेकोे बताएको छ ।
सम्झौताअनुसार ज्योति लाइफ इन्स्योरेन्समा आवद्ध निर्धारित मापदण्ड पूरा गरेका सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरूलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डवाहक तथा निजका परिवारका सदस्यहरूले ह्याम्स अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्नेछन् ।
यस सम्झौताले कम्पनीसँग आवद्ध सम्पूर्ण महानुभावहरू लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको र आगामी दिनहरूमा अरू सेवा प्रदायक संस्थाहरूसँग पनि सहकार्य गर्दै जाने योजना कम्पनीको रहेको छ । कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर तथा हाडजोर्नी विभाग प्रमुख डा. भाष्करराज पन्तलगायत अस्पताल र कम्पनीका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।



