नेपाली भूउपग्रह ‘नेपालीस्याट–१’ वैशाख ४ मा प्रक्षेपण गरिँदै | नेपालले लिने तथ्य तथा तथ्यांकका लागि खर्च जोगिने विश्वास
ललितपुर । नेपालले पहिलो पटक वैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट) ले आउँदो वैशाख ४ गते जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि निर्माण गरेको नेपालीस्याट–१ नामक भूउपग्रह प्रक्षेपण गर्न लागेको हो । उक्त भूउपग्रह जापानको उक्त विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले नै बनाएको हो ।
यही फागुन ३ गते विश्वविद्यालयले पत्रकार सम्मेलन गरी वैशाखमा प्रक्षेपणको तयारी भनिए पनि प्रक्षेपण मिति निश्चित गरिएको थिएन् । नाष्टका उपकुलपति सानोबाबु श्रेष्ठले भने, ‘करिब ४ सय किलोमिटरमाथि आकाशबाट भूउपग्रह प्रक्षेपण गर्ने तयारी अघि बढेको छ ।’ उनले प्रक्षेपणका लागि नाष्टको कार्यालयमा विभिन्न योजना निर्माणका काम भइरहेको पनि जानकारी दिए ।
उक्त भूउपग्रह निर्माणबाट विगतमा नेपालले विभिन्न तथ्य तथा तथ्यांकका लागि गर्ने गरेको खर्च जोगिने भएको छ । नेपालले पनि अब निकट भविष्यमै आफ्नै पहलमा सम्पूर्ण जानकारी लिन सक्नेछ ।



