धावनमार्ग मर्मतका समयमा उडान तालिका परिवर्तन हुन सक्छ : विमानस्थल कार्यालय | कार्यालयको सम्पर्कमा रहनुहोला : ट्राभल एजेन्सीहरू
काठमाडौं । हाल २१ घण्टा सञ्चालनमा रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अर्को महिनादेखि प्रत्येक दिन १० घण्टा बन्द हुने भएको छ । आगामी चैत १८ गतेदेखि प्रत्येक दिन १० घण्टा बन्द हुने भएपछि उडान तालिका पनि परिवर्तन हुने विमानस्थलले जानकारी गराएको छ । धावन मार्ग मर्मत कार्य भएको बेला विमानस्थल बन्द हुने र त्यसले उडान तालिका पनि परिवर्तन हुन सक्ने भएकाले केही ट्राभल एजेन्सीहरूले आफ्ना यात्रुहरूलाई सूचना नै प्रकाशित गरेर कार्यालयको सम्पर्कमा रहन आग्रह गरेका छन् ।
सुमेघ टुर एण्ड ट्राभलले आफ्नो सम्पर्कमा बस्न यात्रुलाई आग्रह गरेको छ । उक्त ट्राभलले एक सूचना नै प्रकाशित गरेर भनेको छ, ‘अप्रिल १ तारिखबाट हुने धावनमार्ग मर्मतको कारणले उक्त दिनदेखि अगाडि काटिएको टिकटको उडान तालिका परिवर्तन हुन सक्ने भएकाले हाम्रो कार्यालयमा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौं ।’
आगामी चैत १८ गतेदेखि विमानस्थल पुनस्र्थापना (मर्मत) को कार्य शुरू गरिने भएका कारण बन्द हुने भएको हो । विमानस्थलमा रहेको ५० वर्ष पुरानो धावनमार्गको कालोपत्रे विस्थापन गरेर नयाँ कालोपत्रे गरिने भएको छ । मर्मत कार्य भएको बेला दैनिक १४ घण्टा मात्र विमानस्थल खुल्ने बताइएको छ । विमानस्थल पुनर्निर्माणको जिम्मा रू. ३ अर्ब ७५ करोडमा चाइना यरो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशनले पाइसकेको छ ।
निर्माणको समयमा बिहान ८ देखि बेलुका १० बजेसम्म मात्रै विमानस्थल सञ्चालन हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार बेलुका १० देखि बिहान ७ बजेसम्म पुनर्निर्माणको काम हुनेछ ।
अब चाइनिज कम्पनीले पुर्निनिर्माणको काम सकेपछि भने कालेपत्रे पटक–पटक भत्किदाँ आइपर्ने समस्या समाधान हुने अपेक्षा गरिएको छ ।



