शेयर बजार ४० महिना अघिको स्थितिमा, नेप्से सूचक ११०० बिन्दुमा |
काठमाडौं । शेयर बजार लगातार घट्ने क्रममा आइतबार नेप्से सूचक ११०० बिन्दुमा ओर्लेको छ । आइतबार नेप्से सूचक ४.९५ अंकले घटेर ११००.५८ बिन्दुमा रोकिएको छ । आइतबार नेपाल स्टक एक्सचेन्जमा करिव ५ अंकको गिरावटसँगै ४० महिना अघिको स्थितिमा पुगेको छ । २०७२ मंसिर २० गते आइतबारको दिन ११ सय २ दशमलव ८४ को बिन्दुमा पुगेको थियो ।
होटल र जीवन बीमाको सूचकबाहेक सम्पुर्ण सूचक तथा उपसूचक ओरालो लागेका छन् । शेयर बजार एकोहोरो घट्न थाले पछि कारोबार रकम घटिरहेको छ भने बजारमा लगानीकर्ताको उपस्थिति घटिरहेको छ । बैंक तथा वित्तीय संस्थाको व्याजदर घट्ने कुनै पनि संकेत देखिदैन । यसले गर्दा पनि लगानीकर्ता शेयर बजारमा प्रवेश गर्न सकेका छैंनन् ।
व्याजदर महँगो हुँदा शेयर कर्जाको माग पनि घटिरहेको छ । नेपाल स्टक एक्सचेन्जले ब्रोकहरुलाई शेयर कर्जाको लागि प्रकृया अगाडि बढाउन निर्दशन दिएको भए पनि यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा देखिएको छैन । यस अगाडि धितपत्र बोर्डले ब्रोकरहरुलाई शेयर कर्जाको लागि अनुमति दिँदा बजार केहि सुधार भएको देखिएता पनि यस पटक बजारमा कुनै पनि प्रभाव देखिएन ।
कम्पनीको बजार मूल्य झण्डै झण्डै बुक भ्यालुमा आउँदा पनि लगानीकर्ता बजार अझै घट्ने शंकाले बजारमा प्रवेश गर्न सकेका छैनन् । जलविद्युत कम्पनी तथा फाइनान्सको बजार मूल्य आधार मल्य भन्दा तल झरेर कारोबार भैरहेको छ ।


