मदिरा व्यवसायी संघले रेड लेबल र ब्ल्याक लेबल नबेच्ने, सरकारको नीति विरुद्ध आन्दोलन |
काठमाडौं । नेपाल मदिरा व्यवसायी संघ काठमाडौंले जोनी वाकरका उत्पादन (रेड लेबल, ब्ल्याक लेबलजस्ता) मदिरा विक्री वितरण नगर्ने घोषणा गरेको छ । पछिल्लो समय जोनी वाकरको ह्वस्कीले आफुले नाफा कमाउने नाममा व्यवसायीलाई समस्यामा पारेको भन्दै ती उत्पादनहरु नै विक्री वितरण नै नगर्ने मदिरा व्यवसायी संघ काठमाडौंका अध्यक्ष सोनाम शेर्पाले बताए ।
‘अहिले जोनी वाकरका उत्पादनले लिकेज तथा ब्रोकज नसाटेर व्यवसायीलाई दुःख दिएको छ,’ संघको चौथो साधारणसभामा उनले भने, ‘यदि अबका दिनका कुनै पनि कम्पनीले लिकेज वा ब्रोकज साट्दैनन् भने ती कम्पनीका उत्पादन मदिरा व्यवसायी संघ अन्तरगतका व्यवसायीहरुले विक्री वितरण गर्नेछैन’, सेर्पाले भने । यसैगरी कतिपय व्यवसायीहरु पछिल्लो समय बजारबाट भाग्ने क्रम बढेको भन्दै त्यस्ता व्यवसायीको पहिचान गरी सतर्क हुनुपर्ने उनको भनाई थियो ।
यसैगरी कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका प्रचार प्रसार समितिका सभापति तथा नेपाल मदिरा व्यवसायी महासंघका पूर्व अध्यक्ष सन्तोषकुमार पाण्डेले पछिल्लो समय सरकारले अवलम्बन गरेको मदिरा सम्बन्धी नीतिले व्यवसायीलाई हतोत्साहित बनाउने काम गरेको बताए । ‘देशलाई नै बढी राजस्व तिरी सोही मात्रामा रोजगारी सिर्जना गर्ने मदिरा उद्योग तथा त्यससँग आवद्ध व्यवसायीलाई हतोत्साहित पार्न सरकारले समम समयमा अनावश्कय नीति अवलम्वन गर्दै आएको छ,’ उनले भने, ‘व्यवसायीको रोजीरोटी नै खोसिनेगरी सरकारले नीति नियम ल्याएमा त्यसको विरुद्ध व्यवसायीहरु एक भएर लाग्नुपर्छ ।’
यसैगरी कार्यक्रममा नेपाल मदिरा उत्पादक संघका अध्यक्ष रबी केसीले पछिल्लो समय मदिरा व्यवसायमा अस्वस्थ्य प्रतिस्पर्धा बढ्दै गएको भन्दै त्यसो नगर्न व्यवसायीहरुलाई आग्रह गरेका थिए ।



