बैंकहरुको सीसीडी रेसियो ८१ प्रतिशत माथि, ऋण दिन सकेनन् |
काठमाडौं । बाणिज्य बैंकहरु ऋण लगानी दिन नसक्ने अवस्थामा पुगेका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार, पुसमै २८ बाणिज्य बैंकहरुको कर्जा–पूँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) ८१. १९ प्रतिशत पुगेको छ ।
पुस मसान्तयता फागुन १० गतेसम्म बैंकहरुले १५ अर्ब रुपैयाँ निक्षेप उठाएर २५ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । त्यही भएर एक सातायता बैंकहरुले ऋण लगानी ठप्प गरेका हुन्। । राष्ट्र बैंकले सार्बजनिक रुपमै बैंकहरुले सीसीडी रेसियो ८० प्रतिशत नाघेको तथ्यांक प्रकाशित गरेको छ । तर सीसीडी रेसियो नघाउने कसैलाई पनि कारवाही गरेको छैन ।
पुस मसान्तसम्म बैंकहरुले २६ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर २३ खर्ब ६८ अर्ब रुपैयाँ ऋण लगानी गरेका थिए । त्यसबेला नै सीसीडी ८१.१९ प्रतिशत पुगिसकेको थियो । त्यसयता बैंकले १५ अर्ब निक्षेप उठाएर २५ अर्ब ऋण बढाइसकेका छन् ।
सीसीडी रेसियोमा बाणिज्य बैंकहरुले तोकिएको सीमा पार गर्दै गर्दा विकास बैंक र फाइनान्स कम्पनी संघारमा पुगेका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार विकास बैंकहरु ७८.३८ प्रतिशतमा पुगेका छन् भने फाइनान्स कम्पनी ७९.७३ प्रतिशतमा पुगेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको औषत सीसीडी रेसियो ८१.०३ प्रतिशत पुगेको छ ।
सरकारी ढुकुटीमा पैसा थुप्रिने तर विकास खर्च नहुने गर्दा चक्रै बिग्रिएर समस्या भएको बैंकरको बुझाइ छ । अहिले ब्यवसायीको कारोबार पनि प्रभावित भएको छ । विगतमा ऋणका लागि सजिलै फाइल अगाडि बढाउने बैंकरले अहिले यो पुगेन त्यो पुगेन भनेर झुलाइरहेको ब्यवसायीहरु बताउँछन् ।
राष्ट्र बैंकको तथ्यांक अनुसार, फागुन १० मा बैंकको निक्षेप सात अर्बले घटेको छ । २६ खर्ब ७९ अर्ब रुपैयाँको निक्षेप घटेर २६ खर्ब ७२ अर्बमा झरेको छ । यही बेला ऋण विस्तार भने २ अर्बले बढेर २३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । त्यसयता बैंकले ऋण लगानी नै ठप्प गरेका छन्।



