निगमले माग्यो ग्यास व्यवसायीको आयव्यय विवरण |
काठमाडौं । नेपाल आयल निगमले ग्यास व्यवसायीसँग आयव्ययको विवरण माग गरेको छ । नेपाल एलपी ग्यास उद्योग संघले कमिसन वृद्धिलगायत विभिन्न माग पूरा नगरे आन्दोलन गर्ने भन्दै १० दिनको अल्टिमेटम दिएपछि निगमले आयव्यय विवरण (वासलात) मागेको हो ।
व्ययसायीहरु फाइदामा नै चलिरहेको भएपनि घाटा देखाउँदै आएका र आन्दोलनको घुर्की देखाएपछि निगमले उनीहरुको आय व्यय विवरण मागेको बताइएको छ । तर व्यवसायीहरुले भने निगमले खराब नियत राखेर आफूहरूलाई पेल्नका लागि मात्र विवरण माग गरिएको प्रतिक्रिया दिएका छन् ।
नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले निगमलाई कुनै व्यवसायीको आयव्यय माग्ने अधिकार नै नभएको भन्दै निगमको गलत नियत बुझेका कारण विवरण नबुझाएको बताए ।
‘हामीले १७ गतेदेखि आन्दोलनका कार्यक्रम नै घोषणा गरिसकेका छौं । अहिले आएर नाफाघाटाको हिसाबकिताब माग्नुको कुनै औचित्य छैन,’ भण्डारीले भने ।
यसैबीच व्यवसायीहरुले आइतबार उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव र मन्त्रालयका उच्च अधिकारीहरुलाई समेत भेटेर आफ्ना मागबारे कुरा गरेका छन् ।
मन्त्री यादवले माग पूरा गर्न सकारात्मक रहेको प्रतिक्रिया दिएको अध्यक्ष भण्डारीको दाबी छ ।
Visited 1 times, 1 visit(s) today


