नेउवा महासंघको टोलीले ब्याजदर समाधानका लागि आज गभर्नरलाई भेट्दै | ब्याजदर समस्या समाधानार्थ महासंघले आफ्नै ५ सदस्यीय कार्य दल पनि गठन गर्ने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको टोलीले आज मंगलवार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललाई भेट्ने भएको छ । महासंघको हिजो सोमवार बसेको बैठकले बैंक ब्याजदरका सम्बन्धमा देखिएका समस्या अझै समाधान नभएको र उक्त समस्या समाधानका लागि गभर्नर डा. नेपाललाई भेटेरै ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले आज गभर्नरलाई भेट्ने र ब्याजदरको समस्या तत्कालै समाधान नभए उद्योगी–व्यवसायीहरू समस्यामा पर्नेबारेमा जानकारी गराइने बताए ।
ब्याजदर समाधानका लागि आफ्नो छुट्टै कार्यदल गठन गर्ने निर्णय
महासंघको हिजो बसेको बैठकले ब्याजदरका विषयमा देखिएको समस्या समाधान गर्न आफ्नै कार्यदल बनाउने र उक्त कार्यदलले सिफारिश गरेअनुसार काम गर्ने निर्णय पनि गरेको छ ।
उपाध्यक्ष प्रधानको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाउने कार्यसमितिबाट प्रस्ताव आए पनि संयोजक भने नतोकिएको प्रधानले बताए । उनले भने, ‘कार्यदल बनाउने निर्णय भएको छ तर संयोजक तोकिएको छैन, बीचमा अमेरिका जानुपर्ने भएकाले मैले समय मिलाउन सक्दिन, मैले अध्यक्षज्यूलाई आफैं नेतृत्व लिनुस् भनेर सुझाव दिएको छु ।’
ब्याजदरको विषयमा विशेष गरेर पूर्वका उद्योगी–व्यवसायीहरू आन्दोलित छन् । प्रदेश १ को विराटनगरका उद्योगी–व्यवसायीहरूले विभिन्न चरणका आन्दोलन गर्दै ब्याजदरको समस्या समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाईसमेत भेटेर आग्रह गरिसकेका छन् ।
उद्योगी व्यवसायीहरू मौद्रिक नीतिले पनि आफ्ना मागहरू सम्बोधन हुन नसकेको बताउँदै आएका छन् । तर, सरकारले भने पछिल्लो पटक राष्ट्रबैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको मध्यावधि समीक्षामा उद्योगीहरूको माग सम्बोधन भएको सरकारले दाबी गरेको छ ।



