जबर्जस्ती हटाउन खोजे मलमा ताला लगाउँछौं : काठमाडौं मलका व्यापारीहरू | भोलि चरणवद्ध आन्दोलनको घोषणा गर्दै व्यापारीहरू
काठमाडौं । कर्मचारी सञ्चय कोषले काठमाडौं मललाई कर्पोट हाउसका रूपमा सञ्चालन गर्ने निर्णयविरुद्ध त्यहाँका व्यवसायले आन्दोलन गर्ने भएका छन् । उनीहरूले आफूहरूलाई जबर्जस्ती मलबाट निकाल्न खोजिए मलमै तालाबन्दी गर्ने बताएका छन् । गुण्डा नाइके राजुगोर्खालीसँग ठेक्का सम्झौता तोडेपछि कोषले उक्त भवन खाली गर्न २१ दिने सार्वजनिक सूचनासमेत जारी गरिसकेको र कोषको उक्त निर्णयविरुद्ध व्यवसायीहरूले आन्दोलन थाल्ने बताएका हुन् ।
कोषले त्यस्तो सूचना जारी गरेपछि मलका व्यवसायीले कोषको निर्णय गैरकानूनी भन्दै त्यस्तो सूचनालाई नमान्ने र मल पनि नछाड्ने जिकिर गर्दै आएका छन् । त्यहाँका व्यवसायीहरूको छाता संगठन ‘द काठमाडौं मल व्यापार संघ’ ले भोलि मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी चरणवद्ध आन्दोलनको घोषणा गर्ने जानकारी दिएको छ ।
मलमा १४ वर्षदेखि व्यवसाय गर्दै आएका व्यवसायीलाई कोषले एक्कासि हटाउन नपाउने संघकी अध्यक्ष सुष्मा महराले बताइन् । ठेकदारसँगको टकरावले गर्दा मलका व्यवसायीलाई मर्कामा पार्न नमिल्ने उनको भनाइ छ । कोषको उक्त निर्णयले लाखौं लगानी गरेर व्यवसाय गरिरहेका व्यवसायीलाई कोषले सडकमा ल्याउन खोजेको उनको आरोप छ ।
उनले भनिन्, ‘टेण्डरबाट छानिएको ठेकदारसँग बीचमै ठेक्का तोडिन्छ, मलको आयभन्दा बढी बोलकबोल गरेर ठेकेदार छानेपछि समस्या आउँछ नै ।’ उनका अनुसार गुण्डा नाइके गोर्खाले मनपरी भाडा वृद्धि गर्ने गरेको व्यवसायीको आरोप छ । २० हजार भाडा रहेको युनिटको भाडा अहिले ८० हजारसम्म पुर्याइएको उनीहरुको भनाइ छ ।
झण्डै ३ सय पसल सञ्चालनमा रहेको उक्त मलबाट व्यवसायीलाई जबर्जस्ती हटाउन खोजिए तालाबन्दी गर्ने संघले बताएको छ । कोषले माघ १३ गते एकमहिने सूचना जारी गरेकोमा व्यवसायीहरू नहटेपछि फेरि ५ फागुनमा सूचना जारी गर्दै आफ्नो स्वामित्वमा रहेको काठमाडौं मल खाली गर्न व्यवसायीलाई २१ दिने अल्टिमेटम दिएको थियो ।



