एनआईसी एशियाले महिला उद्यमीलाई रू. १० लाखसम्म कर्जा दिने गर्यो सम्झौता |
काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल उद्यमशील महिला महासंघबीच हिजो आइतवार ‘उद्यमशील कर्जा’ सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र महासंघको तर्फबाट अध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै बैंकले ‘महिला उद्यमशील बचत खाता’ योजना सञ्चालन गर्ने र महासंघका प्रतिनिधिहरूले गरेको सिफारिशका आधारमा व्यवसाय वा उद्यम गर्न चाहने महिलालाई एनआईसी एशिया बैंकले रू. १० लाखसम्म कर्जा प्रवाह गरिदिने भएको छ । महासंघले उपलब्ध गराएको कागजात, कारोबार, मापदण्डलगायतका आधारमा कर्जा रू. २ लाखदेखि रू. १० लाखसम्म उद्यमशील प्राकृतिक व्यक्तिका लागि कर्जा उपलब्ध गराइने बैंकले बताएको छ ।
निजी क्षेत्रबाट सञ्चालित बैंकहरूमध्येकै ठूलो बैंक बन्न सफल एनआईसी एशियाले साना तथा मझौला व्यवसायमा लगानी विस्तार गर्ने रणनीतिअनुसार महासंघसँग साझेदारी गरेको जनाएको छ । साथै, उक्त सम्झौताले नेपाल सरकारले हालै कार्यान्वयनमा ल्याएको सहुलियतपूर्ण कर्जा योजनाका लागि पनि योगदान पुग्ने र महिलाहरूलाई उद्यमी बनाउन पनि मद्दत गर्ने बैंकको विश्वास छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७७ शाखा कार्यालयहरू, २८९ एटीएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवम् २३ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २१५ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १७१ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगेको छ ।



