नेपाल अन्तरराष्ट्रिय व्यापार मेला चैत १४ देखि |
काठमाडौं । प्रत्येक वर्ष ‘नेपाल अन्तरराष्ट्रिय व्यापार मेला’को आयोजना गर्दै आएको नेपाल उद्योग वाणिज्य महासंघले यस पटक पनि आगामी चैतको दोस्रो हप्ताबाट काठमाडौंमा उक्त महोत्सवको आयोजना गर्ने भएको छ । महासंघले हिजो आइतवार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो ।
चैत १४ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिने उक्त व्यापार मेलामा भारत, पाकिस्तान, बंगलादेश , चीन, थाइल्याण्ड, म्यानमारलगायत देशहरूको सहभागिता रहने आयोजकले जानकारी दिएका छन् ।
आयोजकका अनुसार उक्त मेलामा ३ सयभन्दा बढी स्टल रहने र स्वदेशी एवम् विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिनेछ । मेलामा चीनबाट ८०, भारतबाट १०, पाकिस्तानबाट १५, बंगलादेशबाट ४० वटा स्टलहरू बुकिङ भइसकेको तथा नेपाली हस्तकला र एनटी आईएस वस्तुहरुको समेत गरी ५० स्टल बुकिङ भइसकेको महासंघले बताएको छ ।
कार्यक्रममा महासंघकी अध्यक्ष भवानी राणाले मेलाले नेपाली उत्पादन र वस्तु विश्वसामु चिनाउनुका साथै विश्व बजारीकरणको लागि ठूलो सहयोग पुर्याउने विश्वास आफुहरूको रहेको बताइन् ।
नेपाल सरकार वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्ध केन्द्रको प्रवद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा हरेक वर्ष क्यालेण्डर इभेन्टको रूपमा हुँदै आएको यो मेला यस वर्ष भने लगानी सम्मेलनका कारण केही पछि सारिएको महासंघले बताएको छ ।
मेलाको स्वदेशी र विदेशी गरी १ लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको रहेको छ ।



