४० मेवाको माथिल्लो चमेलिया निर्माण हुने, लागत ६ अर्ब ४० करोड रुपैयाँ | नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता यसै साता हुँदै
काठमाडौ । सुदूरपश्चिम प्रदेशको दार्चुलामा ४० मेगावाटको माथिल्लो चमेलिया निर्माण हुने भएको छ । चमेलिया नदीमा पहिचान भएको आयोजना अपि पावरको सहायक कम्पनी अपि चमेलिया पावर कम्पनीले निर्माण गर्ने भएको हो ।
उक्त आयोजना निर्माण कार्य अगाडि बढाउन यसै साताभित्र नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीले प्राधिकरणसँग प्रसारण सम्झौता गरिसकेको छ भने आयोजनाको उत्पादन अनुमतिपत्र लिन विद्युत विकास विभागमा आवेदन दिएको छ ।
विद्युत प्राधिकरणले निर्माण गरेको ३० मेगावाटको चमेलियाभन्दा १५ किलोमिटर माथि यो आयोजनाको सिभिल संरचना निर्माण हुनेछ । अपि पावरले सम्पन्न गरेको ८ मेगावाको माथिल्लो नौगाड आयोजनाबाट विद्युत उत्पादन शुरु भएपछि सबै निर्माण उपकरण तथा कर्मचारी चमेलियामा परिचालन गरिने कम्पनीको भनाई छ ।
स्वदेशी लगानीमा निर्माण हुने आयोजनामा बैंक तथा वित्तीय संस्थाको ऋण र स्वपुँजी गरी ६ अर्ब ४० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजनाबाट २०७९ फागुनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ ।



