साधना लघुवित्तले आर्थिक समृद्धी लघुवित्त वित्तीय संस्थालाई गाभ्यो |
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक समृद्धी लघुवित्त वित्तीय संस्था लिमिटेड लिएको छ । गोरखा जिल्लामा केन्द्रीय कार्यालय भई १० जिल्ला कार्यक्षेत्र भएको वित्तीय संस्थाको रुपमा कारोवार गर्दै आएको साधना लघुवित्त वित्तीय संस्थाले तनहुँ जिल्ला भानु नगरपालिका १ डुम्रेमा रजिष्टर्ड कार्यालय भै १० जिल्ला कार्यक्षेत्र भएको वित्तीय संस्थाको रुपमा कारोवार गर्दै आएको आर्थिक सम्बृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको हो ।
नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदेशस्तर वा राष्ट्रियस्तरमा कायम रहनुपर्ने र सो का लागि मर्जर तथा प्रप्तिलाई प्रोत्साहन गरेको सन्दर्भमा यस दुई लघुवित्तको प्रप्ति सम्बन्धि सम्झौता नेपालमै पहिलो रहेको साधना लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।
सवल पूँजी भएको उत्कृष्ठ राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था हुने लक्ष्यका साथ एक कार्यक्रमका बिच यस सम्बन्धि समझदारी पत्रमा साधना लघुवित्तका तर्फवाट अध्यक्ष कृष्ण वहादुर थापा र आर्थिक सम्बृद्धि लघुवित्तका तर्फवाट डा. एक नारायण चापागाँइले हस्ताक्षर गरेका थिए ।
एउटै भए पश्चात संस्थाको नाम साधना लघुवित्त वित्तीय संस्था लिमिटेड रहनुका साथै केन्द्रीय कार्यालय हरमटारी ६ गोरखामा रहने बताइएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा चुक्ता पूँजी ४ करोड ९० लाख रहेको साधना लघुवित्तले २६ वटा शाखा सञ्चालनमा ल्याएको छ भने आफ्ना २० हजार जना सदस्य मार्फत रु. १३ करोड निक्षेप संकलन गरी रु. ७० करोड लगानी गरी रु. ५७ लाख नाफा आर्जन गरेको छ ।
त्यसैगरी चुक्ता पूँजी ३ करोड ६ लाख २५ हजार रहेको आर्थिक सम्बृद्धि लघुवित्तको १४ वटा शाखा मार्फत आफ्ना ५ हजार जना सदस्य मार्फत रु. ४ करोड निक्षेप संकलन गरी रु. १५ करोड लगानी गरेको छ ।

