राष्ट्र बैंक १५ अर्बको तरलता प्रवाह गर्दै | के हो रिपो र रिभोर्स रिपो ? किन जारी गरिन्छ ? हेर्नुहोस्….
काठमाडौं । नेपालमा तरलता अभावका कारणले बैंक ब्याज दर अत्यधिक बढेको भनेर बैंकर तथा उद्योगी व्यवसायीहरूले भनिरहेको बेला नेपाल राष्ट्र बैंकले १५ अर्ब तरलता प्रवाह गर्ने भएको छ । बैंकले आज बिहीवार उक्त रकमबराबरको रिपो जारी गरेर तरलता प्रवाह गर्न लागेको हो ।
आज बिहीवार अपरान्ह ३ बजे बोलकबोल गरेर आजै रिपो जारी हुने राष्ट्र बैंकले बताएको छ । आगामी फागुन १६ गते परिपक्व हुने उक्त रिपोको ब्याजदर ५ प्रतिशत तोकिएको छ । ७ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिपो जारी गर्न लागेको हो ।
के हो रिपो र रिभोर्स रिपो ? किन जारी गरिन्छ ?
बैंकिङ प्रणालीमा साधारण तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ ।निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात् बैंक तथा वित्तीय संस्थाहरूको राष्ट्र बैंकमा रहेको खातामा राष्ट्र बैंकले बाँडफाँटअनुसारको रकम जम्मा गरिदिने भएकाले तोकिएको समयावधिका लागि तरलता प्रवाह हुन जान्छ ।
अर्को रिभोर्स रिपो पनि राष्ट्र बैंकले जारी गर्ने गरेको छ । रिपोको ठ्याक्कै विपरीत रिभोर्स रिपो हो । तरलता प्रवाह गर्नका लागि रिपो जारी गरिन्छ भने तरलता खिच्नका लागि रिभोर्स रिपो जारी गर्ने गरिन्छ ।
Visited 2 times, 1 visit(s) today


