वित्तीय बजार प्रतिस्पर्धी नभए हस्तक्षेप हुन्छ : अर्थमन्त्री |
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय बजार प्रतिस्पर्धी र पारदर्शी नभए हस्तक्षेप हुनसक्ने बताएका छन् । उनले नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) सञ्चालनको १० बर्ष पुगेको अवसरमा आज आइतवार आयोजित एक कार्यक्रममा त्यस्तो भनाइ राखेका हुन् ।
उद्योगी व्यवसायीले बैंक ब्याजदर नियन्त्रणका सरकार गुहारिरहेको र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ब्याजदर नियन्त्रण गर्न निर्देशन दिइसकेको अवस्थामा त्यस्तो भनाइ राखेका छन् ।
अर्थमन्त्री डा. खतिवडाले भने, ‘न्यूनतम नाफा कमाउने कुरामा द्विविधा छैन, तर बजार प्रतिस्पर्धी हुनुपर्छ, त्यस्तो नभए हस्तक्षेप हुन्छ ।’ उनले बैंकको ब्याजदरको सन्दर्भमा नैतिक समस्या देखिएको बताए । उनले बैंकले लागत कम गरेर सेवा चुस्त बनाउन जरुरी रहेको भन्दै उद्यमीले उद्यमी र बैंकरले बैंकर बनेर काम गर्नुपर्ने बताए । सबैले आफ्नो भूमिका निभाउँदा समस्या नहुने उनको तर्क रहेको छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले उद्योगी व्यवसायीले मागेजस्तो तुरुन्तै कर्जामा दोहोरो अंकबाट ब्याजदर एकलमा झार्न नसकिने बताए । उनले व्यवसायीलाई आग्रह गर्दै भने, ‘३ वर्र्षअघिको जस्तो ब्याजदर नखोज्नुस्, त्यो अवस्था अहिले छैन ।’
ढुंगानाले व्यवसायीहरूले चाहेको ब्याजदर बैंकको प्रभावकारिता बढाएर तीन–चार वर्षमा मात्रै ल्याउन सकिने बताए । उनले तरलता पर्याप्त भए मात्र यस्तो अवस्था आउने जानकारी पनि दिए ।
Visited 1 times, 1 visit(s) today


