नेउवामहासंघको प्रतिनिधिमण्डल र प्रधानमन्त्रीबीच भेट | बैंकहरूले एउटा शर्तमा ऋण दिने र आफूखुशी ब्याज बढाउँदै लैजाने कुरा उपयुक्त हुँदैन ः प्रम ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरूलाई ब्याजदरमा लचिलो हुन आग्रह गरेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा हिजो शनिवार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटघाटमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि ब्याजदरमा लचिलो हुन आग्रह गरेका हुन् ।
सो अवसरमा प्रम ओलीले बैंकलाई उत्पादनमूलक, रोजगारीका अवसर सिर्जना गर्ने, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरूमा लगानी गर्न सुझाव दिए । प्रम ओलीले भने, ‘लगानी गरेपछि त्यसबाट अर्थतन्त्रमा केही न केही टेवा पुग्ने क्षेत्रमा मात्र लगानी बढाउनुहोस् र त्यस्ता क्षेत्रमा गरेको लगानीको ब्याजमा पनि लचिलो हुनुहोस्, सबैभन्दा बढी लगानी कृषि क्षेत्रमा गर्नुहोस् र सबैभन्दा कम ब्याज उठाउनुहोस् ।’ उनले विलासिताका वस्तुमा कम लगानी गर्न पनि आग्रह गरे ।
उनले व्यवसायीहरूको गुनासोका बारेमा बैंकहरूसँग कुरा गर्न र त्यसको नियमन गर्न अर्थमन्त्री डा. युवराज खतिवडा र राष्ट्र बैंकका गर्भनरलाई समेत निर्देशन दिए । उनले भने, ‘बैंकहरूले एउटा शर्तमा ऋण दिने र आफूखुशी ब्याज बढाउँदै लैजाने कुरा उपयुक्त हुँदैन । यसमा सरकारले नियमन गर्छ ।’
सरकारले सबै क्षेत्रको एकाधिकार तोड्न खुला प्रतिस्पर्धाको वातावरण बनाउँदे जाने र उद्योगी व्यवसायीका समस्या समाधान गर्न यो सरकार सधैं सकारात्मक रहेको उनको भनाइ थियो । महासंघकी अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बैंक तथा वित्तीय संस्थाले लिँदै आएको चर्काे ब्याजदरका कारण निजीक्षेत्रलाई परेको समस्या र समाधानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको थियो ।




