डिस होमको ‘डिसहोम उज्ज्वल भविष्य’ योजना सार्वजनिक |
काठमाडौं । डिस मिडिया नेटवर्क लिमिटेडले हालै नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले विद्यार्थीहरूको गुणस्तरीय शिक्षाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले ‘डिसहोम उज्ज्वल भविष्य’ कार्यक्रम बजारमा ल्याएको हो ।
उक्त कार्यक्रमअन्तर्गत मुलुकका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थी शैक्षिक सामग्रीको अभावमा शिक्षाबाट वञ्चित हुन नपरोस् भन्दै डिसहोमले त्यस्तो कार्यएक्रम ल्याएको जानकारी दिएको छ ।
उक्त कार्यक्रमअन्तर्गत कम्पनीले बर्दियाको गुलरियास्थित त्रिशक्ति आधारभूत विद्यालयका विपन्न परिवारका तथा जेहेनदार विद्यार्थीहरूलाई शैक्षिक सामग्रीसहितको झोला वितरण गरेको छ । कम्पनीले सो वडाका वडाध्यक्षसहितको उपस्थितिमा कक्षा १ देखि ५ सम्मका विपन्न परिवार तथा जेहेनदार विद्यार्थीहरूलाई सामग्रीसहितका झोला वितरण गरिएको हो ।
त्यसैगरी, बर्दियाकै राजापुर नगरपालिका–४ मा रहेको अमर सहिद श्री दशरथ चन्द उच्च माध्यमिक विद्यालयमा पनि शैक्षिक सामग्रीसहितको झोला वितरण गरेको जानकारी दिइएको छ ।
डिसहोमले एसईई परीक्षा दिने विद्यार्थीहरूका लागि घरमै बसेर अंग्रेजी, विज्ञान तथा गणित विषयका टेलिभिजन कक्षाहरू सञ्चालन गर्दै आइरहेको छ । यसका अलावा शिक्षामा सबैको समान पहुँच पुगोस् भन्ने उद्देश्यले विभिन्न विद्यालयसँगको सहकार्यमा विभिन्न योजनाहरू सञ्चालन पनि गरेको छ ।
डिसहोमले यसअघि पनि स्वास्थ्य र शिक्षाका क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्य गर्दै आइरहेको छ । यो कार्यक्रमले गरिब तथा जेहनदार विद्यार्थीहरूलाई पढाइमा प्रोत्साहन पुग्नुका साथै मुलुकभर गुणस्तरीय शिक्षा पुर्याउने सरकारको लक्ष्यमा थोरै भए पनि योगदान पुग्ने अपेक्षा कम्पनीले राखेको डिस मिडिया नेटवर्कका महाप्रबन्धक कल्याण अधिकारीले बताए ।




