प्राविधिक सहायकसहित तीन जनाविरुद्ध झण्डै १६ लाखको भ्रष्टाचार मुद्दा |
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले जिल्ला कृषि विकास कार्यालय, तेह्रथुमका प्राविधिक सहायक हरिगोपाल आचार्यसहित तीन जनालाई झण्डै १६ लाखबराबरको भ्रष्टाचार गरेको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरूले अलैंचीको बिरुवा खरीद गरी कृषकलाई वितरण गर्दा कमिशन दिने व्यक्तिलाई मात्र बिरुवा दिएको भन्ने गुनासोका आधारमा आयोगले उक्त मुद्दामा लेखापाल डिल्लीप्रसाद आचार्यलाई १० लाख ८६ हजार ७२५ र नायब सुब्बा दुर्गाप्रसाद पौडेललाई ५ लाख ४६ हजार २५० रुपैयाँबराबरको भ्रष्टाचार गरेको अभियोग लगाएको छ ।
इलामबाट बिरुवा ल्याउँदा र बिरुवा सम्बन्धित क्षेत्रमा पु¥याउँदा गाडी भाडासमेतमा घोटाला गरेको भन्ने दाबीसहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले बताए ।
यातायातका दुई जनाविरुद्ध मुद्दा
त्यस्तै, आयोगले भाडाका सवारीसाधन दर्ता गर्दा नियमविपरीत दर्ता गरेको र पुरानो सवारीसाधन विस्थापित गर्दा प्रक्रिया नपु¥याएको भन्दै यातायात व्यवस्था कार्यालय गण्डकी अञ्चल पोखराका तत्कालीन शाखा अधिकृत बाबुराम लामिछाने र हाल यातायात व्यवस्था कार्यालय, भरतपुरमा कार्यरत नायब सुब्बा ऋषिराम ढकालविरुद्ध पनि मुद्दा दर्ता गरेको छ ।
सवारी दर्ता ढड्डामा बदनियतपूर्वक विभिन्न मितिमा सवारी दर्ता गरिएका ठाउँमा पछि सरकारी कागजात सच्याई सवारी दर्ता गरेको देखिएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले बताएको छ ।
मालपोतका खरिदारमाथि मुद्दा
यस्तै, आयोगले भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका खरिदार सञ्जयकुमार ठाकुरले जग्गा रजिष्ट्रेसन पास गर्दा लाग्ने कर राजस्व छुट गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग ५० हजार घूस मागेको अभियोगमा मुद्दा दायर गरेको छ ।
स्कूल व्यवस्थापन समितिका अध्यक्षमाथि मुद्दा
आयोगले प्रगति माध्यमिक विद्यालय बेलभरिया रुपन्देहीको विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लेखनाथ शर्माको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने आरोपमा हिजो शुक्रवार नै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।




