रुकुममा १२ किलोग्राम लागूऔषधसहित दुई जना प्रक्राउ |
रुकुम । प्रहरीले रुकुममा १२ किलोग्राम चरेससहित दुई जना पक्राउ गरेको छ । लागूऔषध चरेस तथा अफिम खरिदविक्री तथा ओसारपसार गरिरहेको गोप्य सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट ७ किलोग्राम चरेस र ५ किलोग्राम अफिम गरी १२ किलोग्राम लागू औषध बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको हो ।
पक्राउ पर्नेहरूमा त्रिवेणी नलगाड नगरपालिका– १३, ठाटीगुरता जाजरकोट बस्ने ४२ वर्षीय धनबहादुर मल्ल र सोही नगरपालिका–१२ का ३० वर्षीय चन्द्रबहादुर शाही रहेको जिप्रका रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
उनले भने, ‘पक्राउ परेका अभियुक्तको साथबाट नगद रू. ५० हजार रुपैयाँ र स्प्रिङ तराजु २ थानसमेत बरामद भएको छ ।’
प्रहरी नायव उपरीक्षक खड्काका अनुसार उनीहरू दुवैलाई आठबिसकोट नगरपालिका– ४ मा पर्ने अनाहा ज्यूलामा गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरू जाजरकोटबाट डोल्पातर्फ ती वस्तुहरू लैजाँदै गरेका थिए । सोसम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
पछिल्लो समय रुकुम प्रहरी अपराध न्यूनीकरणमा सक्रिय भएको छ । यसअघि पनि जिल्ला प्रहरीले १७ किलोग्राम चरेससहित एक जनालाई पक्राउ गरेको थियो । अझै पनि रुकुम र जागरकोटका ग्रामीण क्षेत्रहरूमा आगूऔषध चरेस, गाँजा र अफिमलगायतका लागूपर्दाथको खेती गरेको सूचना आएको हुँदा यसको न्यूनीकरणका लागि गाउँगाउँमा प्रहरी सक्रियता बढाइएको छ ।



