सात जना जुवाडे पक्राउ |
रुकुम । प्रहरीले रुकुम पश्चिममा जुवा खेलिरहेको अवस्थामा सात जना जुवाडेलाई १४ हजार २ सय ५५ रुपैयाँसहित पक्राउ गरेको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका– १, सल्लेस्थित वीरबल बुढाको घरमा लुकीछिपी जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेहरूमा पुथा उत्तरगंगा गाउँपालिका–५, हुकामका ३५ वर्षीय दिनेश घर्ती, वडा नं. १२, कोलका ४० वर्षीय पञ्चबहादुर पुन, मुसीकोट नगरपालिका– १ का सन्तोष पुन, सन्दीप पुन, ताराबहादुर पुनलगायत रहेका छन् । उनीहरूलाई जुवाताससम्बन्धी कानूनअनुसार कारबाही गरिने प्रहरीले बताएको छ ।



