कोलकात्ता बन्दरगाहबाट हुने ढुवानीमा आजदेखि ईसीटीएस प्रणाली लागू |
पर्सा । भारतको कोलकाता बन्दरगाहबाट नेपालमा रेलमार्फत हुने ढुवानीमा इलेक्ट्रोनिक कार्गाे ट्याकिङ प्रणाली लागू भएको छ । कोलकाता पोर्ट ट्रस्टका डेपुटी चेयरमेन बालजी अरुण कुमारले ईसीटीएस आज शुक्रवारदेखि लागू हुने बताएका छन् । उनले वीरगञ्ज उद्योग वाणिज्य संघले हिजो बिहीवार वीरगञ्जमा आयोजना गरेको एक कार्यक्रममा त्यस्तो जानकारी दिएका हुन् ।
ईसीटीएस प्रणाली लागू भएसँगै अब नेपाली आयातकर्ताको समय र खर्च दुवै जोगिने अरुण कुमारको दाबी थियो । उनले यस्तो प्रणालीले बन्दरगाहमा लाग्ने एजेन्ट खर्च कम हुनुका साथै कागजी प्रक्रियासमेत न्यून हुने उनको तर्क थियो ।
ईसीटीएस लागू भएपछि बन्दरगाहको झन्झटिलो भन्सार प्रक्रियाका कारण तिर्दै आएको विलम्ब शुल्कबाट नेपाली आयातकर्ताले राहत पाउने विश्वास गरिएको छ । पहिले कोलकाता बन्दरगाहमा एजेन्ट राखी सबै कागजी प्रक्रिया पूरा गर्नुपर्ने अवस्था रहेकोमा ईसीटीएस प्रणली लागू भएपछि बन्दगाहको कागजी भन्सार प्रक्रिया समाप्त भई वीरगञ्ज सुक्खा बन्दरगाहसम्म मालवस्तु पुर्याउने सबै दायित्व सिपिङ कम्पनीकै हुने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका स्थल यातायात तथा पारवहन समितिका सभापति अशोककुमार टेमानीले ईसीटीएस प्रणाली लागू भएपछि तेस्रो मुलुकबाट मालवस्तु आयात गर्दा सिपिङ कम्पनीलाई एक पटक सबै कागजात बुझाएपछि पुग्ने र नेपालसम्म सुरक्षित पुर्याउने दायित्वसमेत सिपिङ कम्पनीकै हुने बताए ।
सो बन्दरगाहबाट नेपालमा वर्षेनि १ लाख कन्टेनर नेपाल भित्रिने र सोमध्ये ४० प्रतिशत कन्टेनर रेलबाटै आउने गरेका छन् । यस्तो प्रविधि सञ्चालनमा ल्याएपछि अब बन्दरगाह व्यवस्थापन, भन्सार, वाणिज्य विभाग, कोलकाता महावाणिज्य दूतावास र आयातकर्ताले अनलाइनबाटै कन्टेनरको अवस्थितिबारे बुझ्न सक्नेछन् ।
विशाखापट्टनम बन्दरगाहबाट भने नेपालका लागि रेलबाट हुने कन्टेनर ढुवानीमा यस्तो प्रणाली पहिलेदेखि लागू गरिएको छ ।



