घूस प्रकरणमा न्यायाधीश पनि तानिए | न्यायाधीशमाथि अनुसन्धान गर्न न्याय परिषद्लाई पत्र
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँमाथि पनि अनुसन्धान गर्न न्याय परिषद्लाई अनुरोध गरेको छ । संविधान र कानूनअनुसार न्यायाधीशमाथि अनुसन्धान गर्न अख्तियारको क्षेत्राधिकार नभएकाले न्याय परिषद्मा लेखी पठाएको अख्तियारले जानकारी गराएको हो ।
सवारी ज्यान मुद्दाका सम्बन्धमा नायब सुब्बा भोलानाथ चालिसेले न्यायाधीश बानियाँकै सहमतिमा घूस लिएको खुलासा भएपछि आयोगले न्यायाधीश बानियाँमाथि पनि अनुसन्धान गर्न पत्र पठाएर अनुरोध गरेको छ ।
सवारी ज्यान मुद्दा सहज गराइदिने भनी सेवाग्राहीसँग घूस लिँदालिँदै पक्राउ परेका चालिसेले आफूले न्यायाधीश बाँनियाँको सल्लाह र सहमतिमा घूस रकम लिएको बताएको आयोगको दाबी छ । काठमाडौं जिल्ला अदालतको फाँट नम्बर २६ मा कार्यरत नायब सुब्बा चालिसे सवारी ज्यान मुद्दा सहज गराइदिने भनी सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेका थिए ।
अख्तियारले उनीविरुद्ध आज बुधवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अनुसन्धानका क्रममा घूस लिएको पुष्टि भएकाले ५ लाख रुपैयाँ विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताएका छन् ।




