व्यापारघाटा उच्च रूपमा बढ्यो : राष्ट्र बैंक | वस्तु आयात ३०.५ % ले वृद्धि, ६ महिनामा ७ खर्ब २४ अर्बको वस्तु आयात
काठमाडौं । आयात र निर्यातबीचको असन्तुलनका कारण व्यापार घाटा उच्च रूपमा बढेको नेपाल राष्ट्र बैंकले बताएको छ । केन्द्रीय बैंकले आज बुधवार चालू आवको पहिलो ६ महिनाको मुलुकको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै त्यस्तो तथ्यांक प्रस्तुत गरेको हो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो ६ महिनामा वस्तु निर्यात १०.३ प्रतिशतले वृद्धि भई ४५ अर्ब ४१ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १३.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ १८.४ प्रतिशत र अन्य मुलुकतर्फ २.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ २९.५ प्रतिशतले कमी आएको छ । निर्यातमध्ये वस्तुगतमा पोलिष्टर, यार्न, जस्तापाता, जडीबुटी, ऊनी, गलैंचालगायतको निर्यात बढेको देखिन्छ । तर, अलैंची, रोजिन, छाला, जुत्ता तथा चप्पल, आयुर्वेदिक औषधिलगायतका वस्तुहरूको निर्यात घटेको छ ।
चालू आवको पहिलो ६ महिनामा कुल वस्तु आयात ३०.५ प्रतिशतले बढेर रू. ७२३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९.४ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिएका मुलुकमध्ये भारतबाट २८.७ प्रतिशत, चीनबाट ४२.९ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २८.४ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, तयारी पोशाक, अन्य मेशिनरी तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको देखिन्छ भने दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारीलगायतका वस्तुहरूको आयात घटेको छ ।
निर्यात वृद्धिका आधारमा रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालयबाहेकका भन्सार नाकाहरूबाट हुने निर्यातमा वृद्धि भएको तथ्यांकले देखाएको छ । त्यसैगरी, कन्चनपुर भन्सार कार्यालयबाट भएको आयात घटेको छ भने अन्य सबै नाकाहरूबाट भएको आयातमा वृद्धि भएको छ ।
चालू आवको कुल वस्तु व्यापारघाटा ३२.१ प्रतिशतले विस्तार भई ६७८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.३ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७.४ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५÷०७६ को ६ महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक वार्षिक बिन्दुगत आधारमा ६.३ प्रतिशत र आयात मूल्य सूचकांक ६.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा ५.४ प्रतिशतले घटेको व्यापारको शर्त समीक्षा महिनामा ०.१ प्रतिशतले घटेको छ । सेवा समीक्षा अवधिमा खुद सेवा आय ९ अर्ब ४५ करोड रुपैयाँले घाटामा गएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १ अर्ब ४२ करोड रुपैयाँ घाटामा रहेको थियो । सेवा खाताअन्र्तगत पर्यटन आय समीक्षा अवधिमा ८.१ प्रतिशतले वृद्धि भई ३६ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ३३ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो । सेवा खाताअन्र्तगत पर्यटन व्यय समीक्षा अवधिमा ३०.८ प्रतिशतले वृद्धि भई ४७ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको खर्च २५ अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।



