आयातित चिनीमा भन्सार दर ६० प्रतिशत पुर्याउन उद्योगीको माग |
काठमाडौं । नेपालका चिनी उद्योगीले आयातित चिनीको भन्सार शुल्क ६० प्रतिशत पुर्याउन माग गरेका छन् । विदेशबाट आयात गरिएका चिनीसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेकाले भन्सार शुल्क बढाउनुपर्ने उद्योगीको माग रहेको छ ।
चिनी उद्योगीहरूले भन्सार शुल्क बढाए मात्रै उखु किसानको भुक्तानी दिने शर्तसमेत राखेका छन् । नेपाल चिनी उद्योग संघले बुधवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी लागत धेरै भएकाले नेपालमा उत्पादित चिनीले विदेशी चिनीसँग प्रतिस्पर्धा गर्न नसकेको बताएको छ ।
संघका अध्यक्ष शशिकान्त अग्रवालले सरकारले तोकेको मूल्यमा किसानबाट उखु खरिद गरे पनि उत्पादित चिनी विक्री गर्न नसकिरहेको बताए । सरकारले खुद्रा उखुको मूल्य प्रतिक्वीण्टल ४ सय ७१ रुपैयाँ २८ पैसा तोकेको छ ।
नेपालमा उत्पादित चिनीको सम्पूण खर्च जोड्दा प्रतिकिलो चिनीको मूल्य ७७ रुपैयाँ ७४ पैसा हुन आउने उद्योगीको तर्क छ । बाह्य मुलुकबाट आयातित चिनीसँग आन्तरिक उत्पादनले प्रतिस्पर्धा गर्न नसकेका कारण समस्या भएको उद्योगीहरूले बताएका छन् ।



