टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थाद्वारा पुनर्निर्मित विद्यालय भवन हस्तान्तरण |

काठमाडौं । टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थाको सहयोगमा हालै पुनर्निर्माण गरी हस्तान्तरण गरिएको श्री शारदा उच्च माध्यमिक विद्यालयको भारतीय राजदूत मञ्जीव सिंह पूरीद्वारा उद्घाटन भएको छ ।
‘नेपाल भूकम्प पूनव्र्यस्थापन परियोजना’ को एक अंगको रुपमा टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थाद्वारा सिन्धुपाल्चोकमा निर्माण गरिएको श्री शारदा उच्च माध्यमिक विद्यालयको सो भवन अत्याधुनिक भूकम्प निरोधक प्रविधिद्वारा निर्माण गरिएको र अपांगमैत्री रहेको छ । गत अप्रिल २०१५ को भूकम्पद्वारा सो विद्यालयको कक्षाहरु, विज्ञान प्रयोगशाला तथा अन्य सेवाहरु समेत विद्यालयमा अधिक क्षति पुग्न गएको थियो ।
सो विशेष कार्यक्रममा भारतका पूर्व सूचना तथा प्रसार मन्त्री एवं टाटा ट्रस्टका वरिष्ठ सल्लाहकार वीएस तारापोरवाला, सिप्रदी कम्पनीजका निर्देशक शम्भु प्रसाद दाहाल, सीईओ राजनबाबु श्रेष्ठ, सीओओ राजेश प्रसाद गिरी तथा उपाध्यक्ष सौरभ थपलियाका साथै टाटा ट्रस्टकी क्षेत्रीय प्रमुख सुश्री अमृता पतवर्धन, वरिष्ठ क्षेत्रीय व्यवस्थापक धारानी रत्नो तथा नेपालका क्षेत्रीय व्यवस्थापक श्री ताम लाल पोखरेलको पनि उक्त समारोहमा उपस्थिति रहेको थियो ।
साथै, उक्त हस्तान्तरण समारोहमा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी सुपरिवेक्षक, डीएलपीआईयु प्रमुख, आर्मी प्रमुख, बाह्रबिसे नगरपालिका प्रमुख तथा वडा सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।
उक्त समारोहमा भारतका पूर्वमन्त्री तथा टाटा ट्रस्टका वरिष्ठ सल्लाहकार वीएस तारापोरवालाले भने, ‘२०१५मा नेपालमा आएको भूकम्प ज्यादै दूर्भाग्यपूर्ण भएको र सो भूकम्पले धेरैको ज्यान गएको, घर तथा विद्यालयहरुको क्षति भएको, धेरै परिवारहरु निर्वासित हुनुका साथै उनीहरुको जीवनयापनमा समेत नराम्रो असर पर्न गयो ।’ उक्त भुकम्पको असर कम गर्न टाटा ट्रस्टले पहलकदमी लिएको छ ।
त्यसैगरी सो समारोहमा बोल्दै भारतीय राजदूत मञ्जीव सिंह पूरीले ‘नेपाल तथा भारतको बीच प्राचीन काल देखि मैत्री सम्बन्ध र दुवै मुलुकबीच आपसी सम्मान रहिआएको छ ।’ भन्ने कुरा बताए । साथै नेपालको आर्थिक विकास अभियानमा सधैं भारतको सहयोग रहने कुरामा जोड दिए । उक्त समारोहमा विद्यालयका प्रधानाध्यापक तोयनाथ नेपालले भूकम्प पश्चात विद्यालय भवनमा क्षति भएकोले कक्षा सञ्चालन गर्न कठिनाई भएको बताए । उनले कक्षाहरु भूकम्पले नष्ट भएकोले भवन बाहिर समेत अध्यापन गर्न परेको कुरा बताए ।
सो पुनर्निर्मित विद्यालयमा १२ वटा कक्षाहरु, लिङ्गभेदी, अपाङ्गमैत्री, सेवा सुविधायुक्त शौचालय, कम्प्युटर प्रयोगशाला तथा अन्य सुविधाहरु उपलब्ध रहेका छन् । सो भवन पूर्ण रुपमा सुविधा तथा सामग्रीहरुले सुसज्जित भएको तथा भूकम्प निरोधक र अपाङ्गमैत्री प्रविधि सहित निर्माण गरिएको छ ।
टाटा ट्रष्ट र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा ‘नेपाल भूकम्प पूनव्र्यस्थापन परियोजना’ को समन्वयमा सातवटा बिद्यालय र स्वास्थ्यचौकि पुनर्निमाणमा सहयोग गर्दै आइरहेको छ । श्री शारदा उच्च माध्यमिक बिद्यालय, श्री जल्पादेवी माध्यमिक बिद्यालय, श्री कुपकन्या माध्यमिक बिद्यालय, श्री मार्मिङ आधारभुत बिद्यालय, श्री तपिनारायण आधारभुत बिद्यालय, श्री जनज्योति आधारभुत बिद्यालय, र पुल्पिङकट्टि स्वास्थ्यचौकिको पुनर्निमाण अन्तिम चरणमा पुगिसकेको छ । जसले गर्दा बिद्यार्थी, शिक्षक र समुदायलाई दिगो रुपमा शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्नेछ ।
यसका अतिरिक्त सिप्रदीयन सहायता संस्थाका उपाध्यक्ष समेत रहेका शम्भु प्रसाद दाहालले भने, ‘यो पुनव्र्यवस्थापना परियोजनाहरुको कार्यान्वयनका लागि केही वर्ष देखि हामी तन मन धनले लागि रहेका छौं ।’ सिप्रदीयन सहायता संस्थाद्वारा परियोजनाको इन्जिनियरिङ्ग, संरचना, प्रविधि देखि पूर्ण सुविधासम्पन्न तथा सामग्रीले भरिपूर्ण कक्षा निर्माण गर्न साना साना कुरामा समेत पूर्ण रुपले ध्यान दिएको जानकारी गराएका थिए । साथै उनले ‘कम्पनीको सामाजिक दायित्व सम्बन्धी कार्यका लागि हामी सधैं तयार छौं तथा भविष्यमा पनि यसलाई सुचारु राख्नेछौं ।’ उनले भने ।