अवैध मासुजन्य पदार्थको अनुगमन कार्यदल, पोल्ट्री व्यवसायीको पनि संलग्नता |
काठमाडौं । भारतबाट भित्रिएका अवैध मासु तथा मासुजन्य पदार्थको अनुगमन गर्न एक कार्यदल गठन गरिएको छ । नेपाल सरकारको संयोजकत्व तथा पोल्ट्री व्यवसायीहरूको संलग्नतामा उक्त कार्यदल गठन गरिएको हो ।
कार्यदलमा काठमाडौं, भक्तपुर, ललितपुर तथा काभ्रे जिल्लाका दाना उद्यमीहरू, ह्याचरी उद्यमीहरू, कुखुरापालक किसानहरू, कोल्डस्टोर व्यवसायीहरू तथा चल्ला दाना वितरकहरूको संयुक्त भेलाले भारतबाट भित्रिएका अवैध मासुजन्य पदार्थको अनुगमन गर्न कार्यदल गठन गरेको छ ।
भेलाले काठमाडौं, भक्तपुर, ललितपुरलगायतका ठाउँहरूमा तारे होटल, पार्टी प्यालेस, रेष्टुरेन्ट तथा कोल्ड रूमहरूमा अवैध रूपमा भारतबाट भित्रिएका तयारी मासु तथा मासुजन्य पदार्थ अनुगमन गर्ने बताइएको छ ।
साथै उक्त कार्यदलले पोल्ट्री फार्ममा गई जिउँदो ब्रोइलर कुखुरा तथा चल्ला चेकजाँच गर्ने, नेपाल सरकारबाट सम्बन्धनप्राप्त भेटेनरी डाक्टरहरूलाई नाकाबाट खुलेआम रूपमा आयात भइरहेको कुखुरा तथा चल्लाको नियमित चेकजाँचपछि मात्र भेटेनरी सिफारिश गरिदिन अनुरोध गर्ने र भेटेनरी एशोसिएशनलाई उक्त कार्य गर्न गराउन पत्राचार गर्नेलगायत कार्य गर्ने बताइएको छ ।
भेलाले खुल्ला नाकाबाट अवैध तरिकाले ब्रोइलर कुखुरा, अण्डा, चल्ला र तयारी मासु आयात गर्दै आइरहेका सप्लायर्सहरूको पहिचान गरी विभिन्न माध्यमहरूबाट सूचना र सम्पर्क गरी उक्त गैरकानुनी कार्य नगर्न सचेतसमेत गराएको छ ।



